
विशाल कोइराला
के छ साथी?
– हुनुको बोध
र नहुनुको सन्ताप
घषर्ण छ।
अनुभवको छल
र चेतनाको कपट
ओसिलो छ।
दृष्यको धमिलो
र अभिव्यक्तिको शुन्यता
सुख्खा छ।
भक्तिको टिको
निस्सारताको पसिना
फुस्रो छ।
शब्दको भकारी
भावको छुचुन्द्रो
रित्तो छ।
बत्तिको उजेलो
तिरिमिरी अन्धकार
धमिलो छ।
अहम् को बलुन फुकाई
भोग को काँडो
प्याट्ट छ।
सरस सरिता
उल्झन को बगर
बाढी छ।
बुझेउ साथी?
दुइटा कुरा छ।
उन्मादको आँखा चिम्लाइ
र बिषादको नङ टोकाइ।
अल्पज्ञानको ‘रुवा-मिठाई’
र लघुतभाषको चिम्टाई।
लिंडेढिपीको लडिबुडी
र हिक्कहिक्क संगैको गुलियो।
उफ्रिने हुति
र फदाल्ने ह्याउ।
हरपल ‘तयार’ कामावेसी आलोचना
र भर्खरको सुत्केरी सपना।
कुकुरको उराठे चकचक
र बिरालोको राजशी आलाश्य।
दुइटा कुरा छ साथी!
र म बिचमा छु।
भेउ नपाएर छेउको
माझमा
साँझमा सुत्छ मेरो दिन।
बिंड हल्लिन्छ
फुत्किन खोज्छ
धार भुत्तो ङ्गिच हाँस्छ कथासार बिर्सिएर
मंचमा ठिङ्ग उभिएको अवाक् कठै,
भांचिएको सियो
तिखो त छ नि
आधी पत्ती
धार त छ नि।
लिखो भएर पनि बाँच्नु?
सार के छ यार?
बुझेउ?
ऐना भित्र अर्कै छ।
पत्रा-पत्रा छ।
आलो पाप्रो छ।
र म कोट्याई को चरमोत्कर्षमा अलिकती र्याल छोड्छु।
गहिरोको घाँटी थिचाई
सतहको ढाड मिचाई
प्रश्नको बाक्लो चियामा
जवाफ खाकारेर थुक्छ
थ्थु!
मैले चिया पिउन छोंडे
तर कोठा भरि गिलास लडेका छन्।
र सडेका किताबमा
ताजा बिचार खोज्दै
बेश्यालयमा प्यार खोज्दै
मन छैन
र मन छ को
द्वन्दमा
म फेरी एकचोटी सिथिल हुन्छु।
फेरी एकचोटी ग्लानी रुन्छु।
धन्न तिमीले सोधेउ यार!
‘म’ हराएर खोज्न नजानेको
‘म’ छुटेर नभेट्टिएको
‘म’ फितलोमा मच्चिएको
‘म’ हावामा थच्चिएको
तिम्रो यो गरुङ्गो प्रश्नभारले उत्रिएँ,
झस्किएँ,
छ्याङ्ग भो।
खुल्यो बोदो चच्छु।
धन्यवाद साथी!
अब म अर्को भेटमा
वादको कालो निधारमा पोतुंला
थुपारुँला मैला हात र गोजी भरि
अनि दर्शन डकारुल
ह्वास्स गनाओस
र तिमीलाई परै बाट थाहा होस्
के छ र के छैन
अनि हामी फुर्सदमा
बेस्वादे जिन्दगीका
खप्परको मुनि पट्टि टासेर राखेको
निकालेर,
चुइङ्गम गफ गरौला।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
