कविता : ठुटे अनुहार

निर्मल खराल (बर्मा)

 

धमिलो व्यथा कवितामा यो ठुटे अनुहारले

आशङ्का निराशाबाट निस्की बताउँ कसरी ?

 

सकसकाइरहेको तिर्खा यो ठुटे अनुहारले

बोतलको थोपो रक्सी पिई बताउँ कसरी ?

 

पीडा पिल्सिएको जीवन यो ठुटे अनुहारले

ढल्कँदै गरेको दिन गनी बताउँ कसरी ?

 

मौनताले थेचरिएको यो ठुटे अनुहारले

निराशीला पाटाका टुक्रा प्रष्ट पारी बताउँ कसरी ?

 

हृदयभरि कालो बादलमा यो ठुटे अनुहारले

थुप्रैसित भई बर्सिने झरी गरी बताउँ कसरी ?

 

वेदना भरिएको ठुटे अनुहारले

असाह्य भएको बताउँ कसरी ?

 

झिनो आशामा जहान भोकै यो ठुटे अनुहारले

सुकेको ओठ तेर्साई केही मिलेन भनी बताउँ कसरी ?

 

भोकशोकले मानिस/प्राणीको यो ठुटे अनुहारले

छिँडीमै मरिसकेका छाया बझारी बताउँ कसरी ?