कविता : कोशिका जीवन

आशिक छेत्री (दार्जीलिङ)

 

कोशिका जीवित हुनु त हो जीवन

कोशिका बचाउनु

आँखाले नभ्याउने

तुच्छ ‘सेल’ बचाउनु

एकनासका सेलहरु उभिएर

लस्करै चिमटिरहेछ

जिउँदो हरियो टुसाहरु (चियापत्तीको)

कोशिकाहरुले बनेको पेट पनि

कस्तो कोकाउँनु जानेको

अचम्म मान्दो हो बिरे

तर विज्ञानको कुरा उसलाई

कसले पो सिकायो र !

विज्ञान नपढ्नेको पनि

त्यही कोशिका नै हो

कोशिका बचाउनु नै जीवन

ऊ लागिपर्छ जिउँदो देखिन

जिउँदो हरियो टुसाहरु चिमट्छ

कोशिका रगेट्छ, कोशिका बचाउन

जातित्व, अस्तित्व भारी दर्शन

के गर्नु र ?

खाएपछि तीन घण्टामै

रित्तिने पेट

फेरि भर्नु छ

आश्वासनले ह्रदय

मज्जाले अघाए पनि

के गर्नु र

आफूलगायत घरका थुप्रै

पेटहरुका कोशिकाहरुले

कसरी कोकाउन सिके-सिके

ऊ लागिपर्छ जिउँदो देखिन

जिउँदो हरियो टुसाहरु चिमट्छ

कोशिका रगेट्छ, कोशिका बचाउन ।