कविता : स्वाभिमान

श्यामु लम्साल (बर्मा)

तिमीले ममाथि राखेको

भ्रमप्रति लज्जित छु

कसैको सामु नझुक्ने म

अभिमानले नभएर

कायम छ स्वाभिमान

गौरव गर्छु आफैँलाई

अनि

मेरो स्वाविमानलाई ।

 

दुई हात नै  जोड्न पनि

पछि पर्दिनँ म

आफ्ना मान्य र पूज्य व्यक्तिलाई

शिर झुकाउँछु

जो सन्तान पीडाबाट

वृद्धाश्रममा आँसु लुकाएर

सन्तानको गुनगान गाउने

ती वृद्धाहरूको सेवा गर्छु

कुनै तक्मा वा पुरस्कारको

वास्ता छैन ।

 

मात्र सेवामा निर्लिप्त मन

र त गौरवका साथ भन्छु

सेवाहि परमो धर्म

कुनै अभिमान नभएर

हो ममा स्वाविमान छ ।

 

कानेखुसी गर्नु

अनि कसैको

सफलातामा

आङ् ठट्याउनु

दुनियाँको रीतिजस्तो देखिए पनि

ती रीतिमा मेरो कुनै वास्ता छैन

तर पनि यो रीतिबाट

अभिन्न पनि छैन

किनकि यो कली हो

म पनि कलीकै न हो

तिम्रो हँमा हँ मिलाएर

नाट्य अभिनय निभाउँछु  ।

 

 

तर

सत्य के हो ?

म आफैँ खोज्दैछु

गणना गर्छु

मेरो कर्तव्य म गर्छु

म कुनै बोद्धिक व्यक्तित्व हैन

ती अठ्ठाशी ऋशिमुनिले

देखाएको मार्ग अङ्गाल्दै

मेरो जीवन सर्थक बनाउने

मेरो मार्ग हो ।

 

मेरो आत्म विश्वाश हो 

र त म आफैँ गौरवान्वित छु

सत्य तत्त्वको खोजमा छु

आफ्नो स्वाविमानमा

गौरव गर्छु ।