कविता : अनुभव

माधव सुवेदी (असम)

 

म भत्किएको जीवनलाई

सम्मेल्दै छु

मलाई केही प्रश्न नगर

म जलेको आगोलाई

निभाउँदै छु

मलाई रोक्ने कोसस नगर ।

 

हाँसो, रुवाइ, सुखदुःख

पीडा अनि दमनपीडनको

कुरा नसोध

म आफैँ पिल्सिएको छु,

विसङ्गतिको निष्कर्ष खोज्दै

समयका कसिङ्गर हटाउँदै छु

मलाई अलमल्याउने

कोसिस नगर

म भत्किएको बाटो आउँदै छु

मलाई केही प्रश्न नगर ।

 

पीडा अनि निराशा

भावावेगसितको सङ्घर्ष

चलेको छ जीवनमा

सकारात्मक भावनाले

निराशा हटाउँदै छु,

पहाडबाट ढुङ्गो किन झर्छ ?

मलाई नसोध

म त्यही ढुङ्गोको गारो बनाई

हिँड्दै छु

मलाई जीवनको उद्देश्य नसोध

मेरो नजरमा पनि धेरै

आशाका भावनाहरू छन्

पहाड भएर बाटो नरोक ।