खगेन्द्र भट्टराई

हिजो जस्तै, अस्ति जस्तै
म लाप्पा खेल्दैछु दाजु
ऊ सिंगौरी हान्छ
म खाली तर्किदिन्छु
ऊ छिर्के लगाउँछ
म टक्क अडिदिन्छु
ऊ खुकुरी नचाउँछ
म आँखा पो चिम्लिदिन्छु
ऊ पुल्ठो झोस्छ
म ढाडिएको फोस्के मुढो हुन्छु
न त ऊ हार्छ
न त म जित्छु
सपनामै पनि तर्साउँछ
म आँखा उघारिदिन्छु
त्यो जब्बर छ दाजु
फकाउछ, फुस्ल्याउँछ
मेरै ओतमा बसेर
मलाई हिलोमा ठेल्न खोज्छ
नबोल्ने बोल्न उक्साउँछ
नगर्ने गर्न हौस्याउँछ
तर म त्यता सम्झन्छु
साँझमा आउने फोन कल पर्खन्छु
सधैं म त्यसदेखि तर्कन्छु
यो मन खपिनसक्नुको छ दाजु
हिजो जस्तै अस्ति जस्तै
म यै मनसँग लाप्पा खेल्दैछु ।

दमक १, झापा