

डा. दधि अधिकारी
हरेक क्रान्तिका परिणाम
सुखद हुने भए साथी
उत्तर कोरियाका
दाय योङ्ग हो1 हरु
यालु नदी2 किन पार गर्थे
रुकुमका राम मगरहरु
अरब किन छिर्थे
आदर्श र वास्तविकता
फरक छ साथी
यदि एउटै हुने भए
चीनका ग्याङ्ग अफ फोर
जेल किन पर्थे
धादिङका नानीहरु स्कूल जान
भेल किन तर्थे
बोल्ने एउटा अनि गर्ने अर्को
सबैमा पाखण्डपन छ साथी
होएन भने
मोहम्मद अलि जिन्नाले3
पोर्क किन खान्थे
कार्ल हेनरिक मार्क्सले
हेलेनलाई4 किन छान्थे
हार्दैमा कोही गलत हुँदैन
हार्दैमा नामेट हुने भए साथी
जिजस क्राइस्ट हाँसी हाँसी
सुली किन चढ्थे
सुकरातले5 खुसी खुसी
हेमलक किन पिऊँथे
निर्दोष जनका भावनामा खेल्दै
रोटी सेक्ने धेरै छन् साथी
होएन भने
समाधान कहिल्यै नदिने नागरिक अभियन्ता
समस्या मात्र किन उराल्थे
भाषण मात्र गरेर पार्टीहरुले
जनतालाई किन बराल्थे
पलपलमा धोका दिने
अनेक छन् यहाँ साथी
होइन भने
पहिलो भेटमै साथीहरु
अन्तर्घात किन गर्थे
आफ्नै साथी गोड्सेबाट
महात्मा गान्धी किन मर्थे
१. दाय योङ्ग होः उत्तर कोरियाको राजदूत जो उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा शरणमा बसेका थिए
२. यालु नदिः चीन र उत्तर कोरिया बीच बग्ने नदि जसलाई पार गरेर उत्तर कोरियाबाट मानिस चीनमा शरण लिन जान्छन्
३. मोहम्मद अलि जिन्नाः पाकिस्तानका संस्थापक जसले इस्लामिक धर्म विपरीत सुँगुरको मासु खान्थे भनिन्छ
४. हेलेनः कार्ल मार्क्सको घरमा काम गर्ने महिला जसबाट कार्ल मार्क्सको एक जना बच्चा थियो भनिन्छ । इतिहासविद् अनुसार एंगेल्सले त्यो कुरा दबाएर राखिदिए र त्यो बच्चाले निकै नारकीय जीवन व्यतित गर्नु पर्यो ।
५. सुकरातः एक ग्रिक दार्शनिक जसलाई युवाहरुलाई भाँडेको र भगवान नमानेको भनेर तत्कालिन शासकले सजाय स्वरुप विषपान गर्न भने जसलाई सुकरातले हाँसीहाँसी पिए र प्राण त्याग गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

