कविता: जीवन

मैले फूलसँग सोधें
जीवन के हो ?
फूलले भन्यो –
फक्रनु र ओईलाउनु !
यही प्रश्न जूनसँग सोधें
जूनले भन्यो-
उज्यालिंदै चम्किनु र अँध्यारो हुनु !
नदीसँग यही प्रश्न गरें
नदीले जवाब दियो-
बेगबान भएर बग्नु र सागरमा बिलाउनु !
हावासँग सोधें
हावाले सुस्तरी भन्यो-
शान्त बहनु र चक्रवातपछि सन्नाटा छाउनु !
घामसँग पनि सोधें
घामले भन्यो-
हिमालको शिखर छुँदै मुस्काउनु र
गोधुली साँझसँगै निस्तेज हुनु !
र अन्त्यमा तारासँग पनि यही प्रश्न गरें
ताराले टिलपिल टिलपिल गर्दै
मन खिन्न पारेर भन्यो-
आकाशमा चम्किरहनु र
अनायस मिर्मिरेमा झर्नु !
महासय,
यही प्रश्न तपाइँसँग पनि !?

 

कविता: नयाँ असार रोपौं

दीव्य गिरी

असारको यो महिनामा
हिलोमा रमाउँदै र दहीच्यूरा खाँदै
विकृति, बेथिति र बिसङ्गतिको टुँडिखेलमा कवाज खेल्दै
आउनुस् हामी पनि
सिंहदरबारको पटाङ्गिनीमा भ्रष्टाचार रोपौं ।
कालोकोटमा निशानछाप लोगो स्यूरेर
झूठो सपना र आस्वासन बाँड्दै हिँडने बेईमानहरूको बस्तीमा
विस्वासघात, अन्तरघात र व्यभिचार रोपौं
परिवर्तनको नाममा सँस्कृति र संस्कार भत्काउँदै
बुद्दकै आँखा अगाडि तरबार रोपौं
कोरोना संक्रमित बिरामीको खल्ती छाम्दै
उसको छातीमा अक्सिजन सिलिन्डर रोपौं
आउनुस् हामी पनि नयाँ असार रोपौं ।
आँखा छोपेर निर्बस्त्र सडकमा हिँडिरहेका
नकचराहरूले दिउँसै देखाएको नाटक हेर्दै
कहिले सडकमा जिन्दावाद रोपौं
कहिले सदनमा मुर्दावाद रोपौं
नीरिह र गरिब जनताको घर आँगनमा
महङ्गी र अभावको हाहाकार रोपौं
आउनुस् हामी पनि नयाँ असार रोपौं ।
लुटिदै र मिचिदै गएका सीमानाहरूमा उभिएर

गोर्खालीहरूको वीरगाथा सुनाउँदै
सीमानामा फेरि जङ्गेपिलर र काँडेतार रोपौं
सत्ताको निम्ति सधैँ आरोप प्रत्यारोप फलाकेर
आफ्नै सहयात्रीको कठालो तान्दै हुँकार रोपौं ।
शासन र प्रशासनमा पटकपटक भूकम्प गईरहन्छ
कस्तै महाभूकम्पमा पनि नढल्ने धरहरा रोपौं
रहस्यमय पोकाजस्तै संविधानका धाराहरू
खोल्दै बन्दगर्दै, फेरि पनि खोल्दै
जतिसक्यो धेरै स्वार्थका तगारो रोपौं
आउनुस् हामी पनि नयाँ असार रोपौं ।
दिउँसै लालटिन बालेर न्याय र सत्य खोज्दै
बलात्कारी हत्याराको पाखुरीमा खुकुरीको धार रोपौं
ईजलासभित्रै मुर्छित छन् कानुनका पानाहरू
नमिता, सुनिता र निर्मलाहरूको चीसो खरानीमाथी
असुरक्षा, हत्या र बलात्कार रोपौं ।
अशान्ति र अकर्मन्यताको भुमरीभित्र निसासिंदै
संसारले देख्ने गरी अब हामी चित्कार रोपौं
वेदनाका भाका सुसेल्दै
आउनुस् हामी पनि पीडाको संसार रोपौं
आउनुस् हामी अब नयाँ असार रोपौं ।
असार १७, २०७८