ऊ हेर !
त्याँ आकाशमा कालो बादल
कसरी चम्किरहेको छ – सायद
केहि भन्न खोजिरहेको छ !
प्रष्ट बुझाइदेऊ
ती बुझ पचाहाहरूलाई
युद्धको क्षण र परिणाम !
ए ! सरोकारवालाहरू – सोध
‘कहिलेसम्म बुझ पचाउछौ ,
कहिलेसम्म लुकाउछौ
समाजको कालो चित्र, चरित्र र यथार्थलाई ?’
गरिदेउ पर्दाफास
पार्श्वमा चलिरहेको
जातको कृत्रिम नाटक –
भन ! किन चुपचाप छौ ?
ए ! लाज पचाएका पँजीवादीहरू
गरिदेऊ एकपटक मेरो विज्ञापन
यो पनि मान्छे हो भनेर !
तिम्रो एकाधिकार बजारमा

निर्दोष एनपी

ए ! सामन्तीहरू – जोरजोरले बोल
किन चुपचाप छौ ?
के सोचिरहेका छौ
के हिंसाले तिमीलाई छुदैँन ?
हिंसा – हिंसा हो
हिंसाले हिंसामाथी पनि
बडो हिंसा गर्छ – खैर
तिमी त झारपात हौ !
ए ! इतिहासका बिरामीहरू
बाहिर निकाल – भित्रभित्रै कोट्याउनुभन्दा
ती लुतो लागेका अपराधी डिस्कोर्सहरूलाई
र बेस्सरी कन्याँऊ, सकभर मलहम लगाऊ
संक्रमित मनहरू शान्त होलान् !
ए ! मन्दिरका ठेकेदारहरू
किन चुपचाप छौ – जाऊ
मनुस्मृतीमा आगो लगाऊ ,
वेदलाई सत्य भट्याऊ
र धर्मको रक्षा गर !
ए ! बेइमान राजनितीज्ञहरू
किन चुपचाप छौ ?
एक भोटको महत्त्व जान्दछौ भने
ती हरेक *अमनलाई न्याय देऊ !
ती हरेक उजुरी उपर उत्तरदायी बन !
आज नबोले कहिले बोल्छौ – भन !
तिमी नबोले कसले बोल्छ ?
किन चुपचाप छौ  अझै
ए ! सरोकारवालाहरू ?
तिमी नबोल्नु भनेको
मैले चिच्याइरहनु हो
म एक्लो चिच्याउनु भनेको
निश्चय, हिंसा बिउझिँनु हो !
हिंसा बिउझिँनु भनेको –
सायद चट्याङ जस्तै हो !
*अमन – अजीत मिजार, मल्हर सदा, नवराज विक आदि । 
ध.उप.म.पा.१३ राजपुर, कैलाली