यम घिमिरे

भानु,
तिमी जन्मियौ नै ऊ जुगमा
र लेख्यौ ऊ बेलाकै समाज
र लायौ गुन जनजनलाई
र लायौ गुन घरघरलाई

के पढ, के अनपढ
सबैलाई नेपाली भाषामा
लय हालेर गाउन लाउने
भाका मिलाएर पाठ सिकाउने
एक आदि पुरुष हौ तिमी

तिमीले रचेका
हितोपदेश, प्रश्नोतर आदिले
काल जमाना अनुसारको
यथेस्ट ज्ञान, शिक्षा र जीवनउपयोगी
सन्देश पाएर
खुसीले गद्गद् भए पाउनेहरू
र पुस्तापुस्ता बिताएर स्वर्गे भए
लाभ लिएर तिम्रा कर्मको

तिमीले सरल र सहज पारेको
रामायणले नेपाली भाषालाई
मेचीकाली तारेर धेरै परसम्म फैलायो
जनजनको जिब्रोमा झुन्ड्यायो
र बाँध्यो भाषाले पहिचान
मान्छेको, संस्कृतिको र
ज्ञानको

तिमी आफ्नो काल बाँचेर गयौ
तिमीले आफ्ना कीर्ति छाडेर गयौ
आजको जुगलाई कतिपय सुहाएनन्
तिम्रा कीर्ति त के बिग्रियो ?
जुग सुहाउने अरु कवि जन्मिएकै छन्
नयाँलाई पालना गर्न र पछ्याउन
कसले रोकेको छ र कसलाई ?

त्यो चेतनाको त्यो समाजमा
वधुशिक्षाले हाम्रा आमा बुड्याँमालाई
घर गरिखान सिकाएर के बिग्रियो त ?
तिनैले गरिखाएको घरबाट जन्मिएर
आज हामीले संसार देखेका होइनौं ?

तिमी नजन्मिनु गणतन्त्रमा
तिमिले नपाउनु मार्क्सवादी लेलिनवादी जुग
के तिम्रो गल्ती हो ?
कि त्यो जुगको अन्धकारमा
एक कवि दीप बनेर उदाउनु तिम्रो गल्ती हो ?
कि तिमीलाई जन्माउने बाबु धनन्जय
र आमा धर्मावतीको दोष हो ?

आज दुई सय वर्षपछि आएर
तिमीले नेपाल र नेपालीलाई
लाएको गुनलाई बैगुनले झम्टेर
तिम्रो कर्ममा लिंग मिलेन
जाति मिलेन,
क्षेत्र र समावेशिता मिलेन
कार्ल मार्क्सको मेनिफेस्टो मिलेन
बराबरी हक र समानता मिलेन भन्दै
धारे हात लाउनेहरूलाई
सोधूँ सोधूँ लाग्छ

आज बिजुलीको दुनियाँ आयो भनेर
आज एलन मस्कको टेस्ला चम्कियो भनेर
जुग जमाना सुहाउँदो प्राचीन मोटर बनाउने
हेनरी फोर्डलाई गलत ठान्ने
तिम्रो दर्शन र
तिम्रो मागमा पो खोट छ कि ?

भानुका लिखा केलाएर
आफ्ना ढाडी लुकाउनेहरुलाई
सोधूँ सोधूँ लाग्छ

आज उमेरले, जवानीले र लाजले
ए फ्यासनका लुगा लाएर हिंड्नेहरू हो
तिमीहरु जन्मिएको
शैशवकाल र परिवेशमा त
त्यही युग र जमाना सुहाउँदो हुने
लाठ्ठे हुन्जेल कुरीकुरी देखाएरै
हिंड्न पाइने फाइदा उठाएरै
हुर्किएका होइनौ ?
कि आजको युग चेत सुहाउने फ्यासनको
‘रिप जिन्स’ लगाएरै आएका हौ तिमी
आमाको गर्भबाट ?