गम्भीर दुवाडी

जब मेरा जोशजाँगर
एकाएक नियन्त्रणमा पर्छ
थाकथलो अँध्यारोले ढाक्छ
अौंशीको सुनसान रात झैँ
नियन्त्रणमा पर्नुको पछाडि
मौनतामा
मौनवार्तामा घोत्लिँदा
तब सुरु हुन्छ
साङ्लाहरुको मकर खेल
साङ्लाहरुका बीचमा
ठूलो छलाङ
सम्मेलन भई सम्पन्न हुन्छ
सम्मेलनले पारित गरेका
शब्द खेल
क्रमशः
सोझा सीधालाई सुली
चोर फटाहालाई चौतारो
कर्मबीरलाई झ्यालखाना
निरीह निमुखालाई
मूल्य वृद्धिको भार
कालोबजारीको विरक्तलाग्दो उपहार
छेपारो सँगै रङ्ग बदल्ने
राष्ट्रवादीको पगरी धारी
राष्ट्रघातीलाई
सुरासुन्दरीले पस्केकी
जीवन रङ्गमञ्च
हिजो र अाज
एक रातको अन्तरमै
पहिले मन्दिर रुदैनथ्यो
अहिले रुन्छ
पहिले स्वाभिमानी निधार खुम्चँदैनथ्यो अहिले खुम्चन्छ
पहिले अँगेनाको चम्कामाथि तसला र कसौंडी रुँदैनथे
अहिले रुन्छ
पहिले जँघार तार्ने काम हुन्थ्यो
अहिले संघारमै मार्ने काम हुन्छ
पहिले गाई र धाईलाई पुजिन्थ्यो
अहिले गधा र पाजीलाई पुजिन्छ
अाहा !
मान्नैपर्छ साङ्लाहरुको बिकासे युगलाई
यो ठूलो साङ्लाको निगाहमा
क्षणिक गोबरको
गुइँठा उफ्र्या झैँ
क्षणिक उर्लेको
 खेल हेर्नको लागि
भाडामा फट्याङ्ग्राहरु
हेर्न अाए पनि
रस बटुल्ने माहुरीहरु
 र
फूल मन पराउँने पुतलीहरु
साङ्लाहरुका खेल हेर्न चाहँदैनन्
साङ्लाहरुको घेरा भित्र
विश्व विख्यात
माफिया र विचौलियाको
करबाहुमा
गठबन्धन हुन्छ
छापाखानाले पेलेर
निस्केका अखबार
सखारै
दैल‍ो-दैलो हुँदै
बजारभरि छरिन्छन्
साङ्लाहरुको
मुखपत्र भएर
सूचना प्रवक्ता हुनु
छापाको धर्म थियो
उज्यालोमा भन्दा
अँध्यारोमा साङ्लाहरु
सक्रिय छन्
हिजो ढलेको साङ्लो
 ब्युँतिएर सिंहदरबार पस्छ
गजधम्म बस्छ
घरको साङ्लोले
सताइरहेको बेला
वनको साङ्लो
फेरि
महामारीको दूत बनेर
गाँस बास र कपासमा
दूतावास खोलेर
रमिता देखाउँदै छ
छिनघरिमै
प्राण धुत्न पल्केको
य‍ो बबुरोलाई के थाहा ?
कतै यतै पनि !
घाती कुलुङ्घार
साङ्लाको सङ्क्रमण
 सल्केको त छैन ?
भयभीत छु
देखेर साङ्लाहरुको खेल
गजुरी -धादिङ्ग