अक्सिजनको अभावमा
छटपटी रहेछ हस्पिटलमा बहिनी
बेड नपाएर अकालमै मृत्यु भयो बाउको ।
डाक्टरले उनको मृत्युको कारण कोविड बताएको छ
तर उनी यति चाँडै मरिहाल्ने मान्छे थिएन ।
मलाई शङ्का लागि बस्छ उनको मृत्यु हुनुको पछाडि
कि त हस्पिटलको लापरबाही थियो कि त बिल भुक्तानी ।
सारै अन्जान छु लुङ्वा
मलाई त यो कोविड के हो भन्नेसमेत थाहा छैन ।
आमा डोकोमा हालेर केही फर्सीको मुन्टा
बेच्न गएको छ चोक
म पुलिसको आँखा छल्दै छल्दै छल्दै
यो भर्खर बनिन्दै गरेको सुपर मार्केटको
बिल्डिङभित्र गरिरहेछु इँटा जोड्ने काम ।
कतिन्जेल डराइबस्नु पुलिसको आँखासित ?
जसले एक माना चामलसमेत ल्याइदिँदैन मेरो भान्सामा ।
मलाई यति बेला सप्पैभन्दा बेसी डर
भोकसँग लागेको छ
लागेको छ बहिनीको हस्पिटल खर्चसँग ।
एम्बुलेन्सको भाँडा बडेर छोएको छ पर्वत
उनीहरु बिरामीभन्दा पहिले गोजी कतिको बाक्लो छ, हेर्छ ।
सुनेको छु यतिखेर
यो हस्पिटलहरु गरिरहेछ रोगीहरुको व्यापार
र कमाइरहेछ नाफामाथि नाफा ।
म बबुरोचाहिँ
डाक्टर नै इश्वर हो भन्ने भ्रम पालेर बाँचिरहेछु ।
अनिश्चितकालीन छ लकडाउन
घरमा सकिएको छ रासन
काम गर्ने ठाउँ ठाउँमा प्रसाशनले लगाइदिएको छ ताला ।
न उसले
खाने चामल उपलब्ध गराउँछ
न मेरो अभावको समाधान गरिदिन्छ ।
आदेश सुनाउँछ
र, मेरो गरिखाने बाटो मात्रै अवरोध गरिबस्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।