एउटा बुढो रुख ले तिमीलाई कुरीरहेछ
पहेंला पातले निथ्रुक्कै रुझेका
ती खैरा बेन्च हरुले पर्खिरहेछ।
अलिकति त रोकिदेउ
पर्ख
आउ
अलिकति सुस्ताउ
आफ्नो दौडलाई थोरै पर राखेर
मेरा यी हातहरुमा
तिम्रा खोजहरुलाई एकछिन सुस्ताउ !
 
यी पछाडिका काठ पट्टि
तिम्रो सपनी सुस्ताएर एकछिन
यी बादल संगै
खुसीको उडान भर
आउ
अलिकति सुस्ताउ
नडराऊ यी चराचुरूङ्गीका आवाज संग
यिनीहरु कुन्ठित छैनन्
खोल हृदय केहिबेर
यहां कोही पनि प्रतियोगी छैनन्
स्वास लिन देउ जन्जिरले डामेका
तिम्रा कोमल अङ्गहरूलाई
यहां कामुक आंखाहरू पटक्कै छैनन्
रङ्गनै रङ्गले अंध्यारीएका ती तन्तुहरुमा
उल्लासको पानी पोख
आउ मेरा हातहरु समातेर
खुसीको उडान भर
आउ 
अलिकति सुस्ताउ !
 
सांघुरो गल्लीका भित्ताहरु
भित्तामा झुण्डिएका महत्वकांक्षा
अनि ति पर्खालहरुमा घिस्रिदाका 
ति मुठ्ठीका घाउहरु
सबै यहिं सुस्ताउ
मेरो गन्धे  झारको  मलम लगाउ
भत्किनेछन् ति पर्खालहरु
त्यसैले ती मुठ्ठीहरूमा
अलिकति मेरो आकाश लिएर जाउ
आउ 
अलिकति सुस्ताउ !