मानव सभ्यताको विकासको
एक सुन्दर नमूना,
सामन्तवाद र तानाशाहीतंत्रको
हुर्मत लिने बाहुबली,
तमाम गणहरुको मुहारमा
मुस्कान छर्ने,
पूर्वतिरबाट उदाएको
सुनौलो प्रकाश पुञ्ज,
सुशासन र समानताको
प्रतिक्षामा झुमिरहेका
कविलाहरुको आशा र भरोसाको
आधार, गणतन्त्र।
मेरो यो हिमाली मुलुकमा,
परिवर्तन प्रक्रियाको
एक उत्परिवर्तन अर्थात्
म्युटेशनको रूप सरह,
विकृत र कुरुप शरीर लिएर,
गलित एबम् थकित
सेरेब्रल पाल्सी बिरामी सरह,
घिश्रिरहेछ, तनकिरहेछ,
लक्ष्य विहिन, दिशाविहीन यात्रामा
गणतन्त्र।
म घोत्लिन बाध्य छु आज,
साँच्चै मैले के गोदावरी फूल गुमाएँ?
अनि सट्टामा रङ्गीचङ्गी कागजी फूल
हातमा लिएर खूब रमाएँ?
होइन भने,
मेरी आमाको मुटुको टुक्रा माथि,
एक अवैध सन्तान सरह,
बेहद अपमान किन?
सर्वोत्कृष्ट शासन पद्धति
गणतन्त्रको उपहास किन?
की यस्तै
शंकर भगवान या भनौं
जनताको बरदानले मात्तिएको भष्मासुर,
या धेरै मान्छे मारेर खान सफल,
रक्त पिपासु ड्राकुला जस्तहरुको
जबर्जस्ती करणीबाट जन्मिएको,
नचाहिएको औलाद, अर्थात्
अनावश्यक भार हो, गणतन्त्र?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




