१. चेतनाको सङ्घारमा उभिएर

अनुपमा कट्टेल (असम)

अनुपमा कट्टेल (असम)

विवेकको कोठो साँगुरिएपछि

ध्रुवतारा झैँ एक्लिँदै गएको छ चेतनशीलता

श्रद्धा र सद्भावनाको खोलो बग्न नपाउँदै

घमन्डहरूले जाल फिँजाएर

माछा समाउने अथक प्रयास गरिरहेछन्

लिलाम गरिरहेका छन्

बेसुरा लय र तालहरू

अवचेतन विवेक त्यही तालमा नाचिरहेको छ

आफूलाई नियन्त्रणमा राख्नुभन्दा

ठूलो कसरत के छ ?

आफूलाई बुझ्नसक्ने समय निकाल्नुभन्दा

मूल्यवान समय के छ ?

यक्षको जस्तो जटिल र गम्भीर प्रश्न

ठडिएको छ आज विवेकको सङ्घारमा

उर्बर मस्तिष्कका अस्थिर परिच्छेदहरू

व्यस्त छन्,

आफ्नै मात्र वैभवको पहाड चढ्न

एक्लै क्षितिजपारि पुग्न

चेतनाको आँखा कहिले उघ्रिएला

कहिले शङ्खनाद गर्ला विवेकले

आवेगको विरोधमा ?

 

२. उमेर

वसन्ती पौडेल (मणिपुर)   

वसन्ती पौडेल (मणिपुर)

मनको उमेरसँग

दाँज्दै म

आफ्ना सुन्दर आभूषण

लिपपोतमा व्यस्त

भएको धेरैबेरपछि

सखीले आवाज दिई

सकिनौ ?

अहो ! कतिबेर लाएकी ?

ढिला भई सक्यौँ हामी

बोलाउँदा बोलाउँदा गरे

ल छिट्टो हिँड ।

 

तिमीलाई धेरै राम्रो सुहायो

तरुणीजस्तै यी आभूषणले ।

 

उनको भनाइले म झसङ्ग

भएर सोच्न पुगेछु ।

 

विगतका दिनहरूसँग

ऐनाअगाडि उभिएर

अनि बल्ल साक्षात्कार भयो

वर्तमानसँग मेरो,

कति सत्य कुरा गरेकी रहेछिन्

मेरी सखीले –

साँच्चै, सुन्दरताको वास्तविक अर्थ नै उमेर रहेछ ।

 

३. अङ्ग दृष्टिकोण

विशाल केसी (असम)

विशाल केसी (असम)

के हुन्थ्यो यदि ईश्वरले

तिम्रो छाती र नितम्ब नबनाएको भए

सायद तिमी अलिकति असुहाउँदो देखिन्थ्यौ होला

तर,

जीवनभर सुरक्षित नै रहन्थ्यौ होला

त्यही भएर आज

एक जना चित्रकारले तिमीलाई यसरी सजाएका छन् ।

यो कस्तो समय आयो

आज तिम्रो लागि

तिम्रो शरीरका अङ्गहरूको दोष हो ?

कि

मन र आँखा नै अपवित्र भैसकेका छन् हाम्रो

अनि जहाँ हामी केवल

तिम्रो शरीरका अन्य अङ्गहरूलाई छोडेर

तिम्रो छाती र नितम्बमा आफ्नो

आँखा भिजाउन थालेका छौँ ।

 

थाहा छ मलाई

तिमी ईश्वरसँग सधै गुनासो गर्ने थियौँ होला

आफ्नो अपुरो शरीरलाई देखेर

अनि

एकान्तमा आँखा तड्पी तड्पी आँसु झार्ने थियौ होला

तर, सत्य यो पनि हो

तिमीसँग सायद

म पनि तिम्रो गुनासोमा भाग लिने थिए होला,

किनभने

तिम्रो अधुरो र अपुरो शरीरप्रति

मेरो मन पनि अमिलो हुन्थ्यो होला ।

वास्तवमा तिम्रो अपुरो शरीर हुँदा

मेरो पूर्णाङ्ग शरीरको कुनै अस्तित्व नै रहने थिएन

वा फेरि हामी दुवै नै

एक अर्काप्रति कुनै गुनासोबिना नै माया साट्थियौँ होला

यदि हामीले माया साटेका भए

सम्भवत सृष्टिको विकास हुने थिएन होला ।

 

किनभने यी दुई अङ्गहरू

केवल अङ्गमात्र होइन

यी त सृष्टिको उत्पत्ति र पालनपोषण गर्ने सिद्धान्त हुन्

जुन सिद्धान्तलाई आत्मसात गर्न

वर्तमानको पुरुषले बिर्सिदिएका छन् होला

त्यही भएर आज

एउटा स्वाभिमानी चित्रकारले

तिम्रो छाती र तिम्रो नितम्ब नै तिमीदेखि छुट्याइदिएको छ

तिमीलाई उसले ब्रह्मास्त्र ओढाइदिएको छ

अनि, ती विवश र पापी नजरहरूलाई

तिमीप्रति अलिकति सचेत पार्न सक्छु कि भन्ने,

एउटा प्रयास चालेको छ ।

 

४. रूख 

मोहन सुवेदी (असम)

मोहन सुवेदी (असम)

कैयौँ वर्षअघि एउटा बिरुवा उम्रिएको थियो

यस ठाउँमा बरको

अहिले त्यो प्रकाण्ड बटवृक्ष भएको छ

साउती मार्दथे रातभरि चराहरू

दिउँसोको सङ्घर्षको क्रान्तिलाई बिर्सिएर

प्रेमप्रीतिका भाका गाउँथे साँझपख

सुनिन्थ्यो त्यसको स्वर परको फराकिलो चउरमा

बिसाउँथे खेताला दाइहरू रुखमुनि

हलो जोतिसकेर खाजा खाने ठाउँमा

साइँलीले पकाएर ल्याएको फर्सीका मुन्टा र चाम्रे भात

गोठाला दाइहरू हाँगामाथि चढेर

जिस्काउँथे हरियो यौवनले फुलेका कान्छीहरूलाई

अनि मक्ख पर्दथे

अनाम प्रीतिको काल्पनिक सागरमा डुबेर

सुसेली हाल्दथे हाँगाबाट जिस्किदै

अरू धेरै रूख उम्रिए त्यसरी नै

वरिपरि चारैतिर जलमल पाएर

हल्लिन्थे हाँगाहरू, पातहरू, फूलहरू

अग्ला हुँदै गए मनसितै ती रुखहरू

चउरभरि बाक्लो जङ्गलको सुन्दर चित्र कोरेर

एक दिन ठूलो हुन्डरीले लडायो त्यो रुख

टुक्रिए हाँगाहरू, झरे यौवनका पातहरू

सुक्दै गए माटो अँगालेका जराहरू

जहाँबाट सधैँ चियाउँथ्यो जीवनको मादकता

रुखहरू त्यसरी नै ढल्दछन् मनको क्रूरताले

अनि मनसितै ढल्दछ आस्थाको पृथिवी ।

 

५. एउटा रूख : एउटा कविता

नैना अधिकारी (असम)

नैना अधिकारी (असम)

केही दिनअघि छातीमा एउटा कविता

टुसाएको थियो

हरियालीको आशा देखाउँदै

बिस्तारै मलजल खोज्न थाल्यो

म पनि निःस्वार्थ भावले

उसको हेरचाहमा लागिपरे

ऊ मुसुक्क हाँस्न थाल्यो

बढ्न थाल्यो

दुईपातेबाट चारपाते हुँदै

बारीको कान्लामा भएको रुख र

मेरो मनमा उब्जिएको रुखको

जन्मदिन एउटै हो

कान्लाको रुखको हाँगासँगै

मेरा आशाहरू झाँगिन थाले

कविताको महाकाव्य बनिन्छ

रुखको निकुञ्ज बनिन्छ अब बिस्तारै

हाँगा हाँगामा लटरम्मै फुल्ने छ्न् फूल

झुप्पैझुप्पा लाग्ने छ्न् फल

चराहरूले घरजम बसाल्ने छन्

मेरा सपनाहरू पनि

लहलह बढ्न थाले रुखसँगै

रुखले यौवन प्राप्त गर्‍यो

उमेर ढल्किन थाल्यो

सुक्न लागे हाँगाहरू

बिस्तारै पहेँला हुन थाले पातहरू

झर्न लागे

मर्न लागे

उडाएर पर पर पुर्‍याउन थालो हावाले

खसेका पातहरू

ऊ झोक्रायो

हाँस्न भुल्यो

जराहरूले छाडे श्वास फेर्न

पातहरूले छाडे साथ दिन

चरा सबै उढेर गए

चैते हुण्डरीले उखेली दियो रुख

रुख मर्नु भनेको

पात मर्नु हो

फूल मर्नु हो

सपना मर्नु हो

मानिसको सुरक्षा मर्नु हो

पर्यावरणको घाटा हो करोडको घरमा

जहाँ रुख छैन

त्यहाँ सपना छैन

कल्पना छैन

सुमधुर गीत छैन कोइलीको

रुखको श्वास गइसक्ता

कविताको पनि उठिबास लाग्छ ।

 

६. भित्तो

निलिमा आचार्य (असम)

निलीमा आचार्य (असम)

हिजोसम्म बोलेर नथाक्ने हाम्रो घरको भित्तो

हिजोआज मौन छ

सत्यतथ्यको वाहक आज

चुपचापले उभिएको छ

खै यो उसको अहङ्कार हो या विवशता

थाहा भएन ।

 

मलाई अझै सम्झना छ

अघि ऊ बाँसको हुँदा

सबै खबर भन्थ्यो

घर-गाउँको राम्रो-नराम्रो सबै सुनाउने गर्थ्यो

रामेले रक्सी पिएर बूढीलाई कुटपिट गर्दा

यही भित्ताका प्वालबाट खबर हावासँगै छिरेको थियो ।

 

घरका सबै सदस्य उर्लेर गएका थियौँ

कान्छीमायालाई बचाउन

त्यतिबेला हिजोआजको

जसरी “भो ! परेन अरूको व्यक्तिगत समस्यामा हस्तक्षेप गर्न”

भनेर कहाँ भन्थ्यो र यो भित्तो

बरू भन्दा उफ्री उफ्री कराउँदै

“ए ! अबेर भयो चाँडो जाओ कान्छीलाई मार्ने

पर्‍यो त्यस मोराले” भन्थ्यो ।

 

त्यसैले सारा गाउँ नै उर्लेर जान्थ्यो

एकाअर्कालाई मदत गर्न

आजभोलि ल्याउँदैन

केही दुख-सुखका खबर यो भित्तो

हिजो पल्लो गाउँका काउन्सिलर काका

मरेको खबर न्युज हेर्दा थाहा भयो

एकछिन घोत्लिएँ

फेरि भित्तामा झुन्डिएको भित्तेटिभी बन्द गर्दै

तलतिर लागेँ कहाँ कहाँ

कुराहरू सबै लुकाउन थालेको छ ।

 

बढो कप्टी भएको छ मेरो भित्तो

पहिले त सारा गाउँ-घरको खबर नढाँटी भन्थ्यो

हिजोआज आफ्नै घरको पल्लो कोठाको

कुरा लुकाउन खोज्छ ।

 

“छोरालाई किन ढिलो भयो उठ्न ?”

भनेर सोध्दा ।

सोझै भन्छ “म्याच थियो बुबा हिजो ”

भित्तामा भएको माउसुली पनि

ठिक-ठिक गर्छ

छोराकै पक्ष लिएर

झुठको साथ दिँदादिँदै पुच्छर चुँडिएर

मर्न थाले हिजोआज

माउसुलीहरू पनि

भित्ताले झुठो बोले तापनि

अनुभवी बुबालाई सबै थाहा हुन्छ ।

 

झ्यालमा काला सिसा

लगाएका दिनदेखि नै

भित्ताको भित्री अहङ्कार बढेको

बाहिर आँगनमा फलामे गेट लागेपछि

उसको व्यवहारमा परिवर्तन आएको

मेरो बचपनमा

बाँसको भित्ता थियो

जसमा ठूला ठूला प्वाल हुन्थे

प्वालमाथि

भगवानका केही तस्बिर अनि एउटा भित्तेघडी

त्यही भित्तेघडीले हामीलाई समयको आदिपाठ पढाएको थियो

ती घडीका काँटासँगसँगै जीवन दगुर्न थाल्यो

थाहै नपाई बाँसको भित्ताले चोलो फेर्‍यो

हिजोआज कङ्क्रीटको ओभरकोट भिरेर

भित्तो बडो कठोर बनेको छ ।

 

७. परिचय

पूजा आचार्य (असम)

पूजा आचार्य (असम)

सृष्टिको अभिशाप निधारमा टाँसेर

ऊ समाजमा एउटा अन्योल फैलाइदिन्छे

आफ्नै परिचयको अन्योल ।

 

कुन बथानमा मिस्सिनु पर्ने हो

के नाउँले बोलाउँदा उसका आँङमा  घाम लाग्छन्

कुनै दिन निश्चित भइन् ऊ

अनि आफूलाई आफूले चिन्न नसकेर

छातीमा अशान्त सागरका छाल बोकेर

एउटा अभीशप्त जीवन बिताउँछे

मानौँ लाञ्छना उसको प्राप्य अधिकार हो ।

 

निश्चित भइन्, ईश्वर खोइ आज ?

किन मखुन्डो भिरी पर पर तर्किहिँड्छन् ?

मानवतालाई चिहानमा गाडेर

जब उसलाई तिरस्कार गर्छ समाजले

मौन बसिदिन्छन् ईश्वर

अदालतले पल्टाउँदैन न्यायका पन्नाहरू

सर्वत्र विराजमान छन्

धृतराष्ट्रहरू ।।

 

स्वाभिमान गुमाउनुभन्दा

ठूलो जीवनको पीडा के होला ?

के होला सृष्टिको खेतमा

हलो नार्न नसकेको दुखभन्दा ठूलो दुख ?

 

यौवनले उसलाई कुतकुती लाउँदैन

प्रणय रागको हुटहुटी जाग्दैन मनमा ।

 

आवेदन पत्रको फारम किन

भिन्नै तराजुमा तौलिन्छ उसको

जब उसले भराउनु पर्छ  ‘लिङ्ग’को घर

न्यास्रो अनुहार लिएर फेरि घर फर्किन्छे

त्यही घर जुन घरले उसको अधिकार

र आत्मसम्मानको सम्मान गर्नै जानेन कहिल्यै ।

 

जीवनका सबै व्यर्थताहरू छातीभित्रको खाडलमा पुरेर

ऊ सडक बजार र आस्थानहरूमा

ताली पडकाउन थाल्छे

 

यो तालीको प्रतिध्वनी उसको मुटुमा सुनिँदैन

भुँडीमा सुनिन्छ

फुस्रो समाजले दस रुपियाँमा किन्न चाहान्छ

उसको स्वाभिमान

आफ्नो कुशल- मङ्गलको निम्ति

ऊ एउटी किन्नर हो भनेर ।

 

लिङ्ग प्रकारले त

पाइन्न होला नि असल परिचय

मान्छेको !!

 

८. म, म भइरहेको छैन

पूजा उपाध्याय (असम)

पूजा उपाध्याय (असम)

अहिले

म, म भइरहेको छैन

मेरो शरीरमा रक्तको स्रोत घट्दै छ

मेरो मस्तिष्कको ताप सेलाउँदै छ

वातानुकूलित परिवेशमा

मभित्र भएको मलाई हत्या गरिँदैछ

अन्यायमाथि बर्सेका मेरा क्रोधहरू सकिँदैछन्

अपराधमाथि रहेका मेरा प्रतिक्रियाहरू हराउँदैछन्

आक्रोशहरू ओस्सिँदैछ्न्

रोषहरू चिसिँदैछ्न्

सबै सुनेर

देखेर

बुझेर

म सम्यम पनि सकिदैछु

क्रमश: ओइलाउदैछु !

संसारबाट एउटा चेत सकिए झैँ

घामको किरणबाट एउटा छाया हराए झैँ

म हराउँदै छु

म निदाउँदै छु कुम्भकर्णको निद्रा

अनि बेला बेला

गान्धीका बाँदरहरू जस्तै सिको सिक्तै छु

मेरो र मेरो घरको भलाइ यसैमा छ अरे

भन्छन् बुद्धिजीवीहरू

एउटा हड्डीबिनाको जिउ जसोतसो घिसार्दै

हिँड्ने कलामा पनि म

सिपालु भइसकेको छु

हाल

म बोल्न छाडेँ

दोह्रराइदिन्छु केवल जिन्दाबाद

अथवा मुर्दाबाद

म देख्न छाडेँ

हेरिदिन्छु केवल देखाउने दृश्य

अनि

सुनिदिन्छु केवल रङ्गीन सङ्गीत

जबदेखि म आफ्नो मात्र वास्ता गर्न थाल्छु

घर बाहिरको दुनियाँलाई

बेपरवाह पिठ्युँ देखाउन थाल्छु

म, म भई रहन्न

मानवताको लास डोहोर्‍याउँदै हिँड्ने

आफैँ एउटा लास बनिसकेको हुन्छु

म एक्काइसौँ शताब्दीको

यान्त्रिकतामा आबद्ध

एउटा व्यापार भइरहेको हुन्छु

कलमबिनै शब्दहरू खेलाइरहेको हुन्छु

सुगन्धबिनाको एउटा फूल

फुलाइरहेको हुन्छु

म नहुँदा

समाजहितैषी ट्यागले सम्मानित हुनु

समयको माग नै त होला !

 

९. गुलाफ रोप्न खोजेको होइन

रोशन दियाली (मणिपुर)

रोशन दियाली (मणिपुर)

हो मैले कोरेका शब्दहरु

मैले भनेका कुराहरु

न पच्न सक्छ सुन्ने बुझ्नेहरुलाई

किनकि म दुखमा जलेर महलको ऐश्वर्यमा बल्ने कल्पना गर्न सक्दिनँ।

 

सुग्न सक्दिनँ म

पारिजात, मखमली, गुराँस

औँ रातको रानीको सुहास

जहाँ भोक तिर्खाले मर्नेहरूको

लास कुहिएर गनाइरहेको छ

जहाँ अझै पनि म उनीजस्ताको

मान्छे हुनेको सपना ठूला मान्छेले

गिद्धसरी लुछिरहेको छ ।

 

जहाँ एक छाक खाना

हजाराैँ मजबूर बहिनीहरुले

अनुहार छोपेर साडी खोलेका छन्

तिमी भन्छौ यस्ता कुरा किन गर्छौ

यस्तो दृश्य कुन हेर्छौ

म कसरी खोक्रो स्वर्ग देखू

जब मेरो घर स्वर्ग र नर्क

माझ पिङ्ग खेलिरहेछ

मैले त यो घर सौन्दर्यको

वर्णन मात्र गरेको

मरेका लासको लेदोमाथि

नाउ चलाएर गुलाफ

रोप्न खोजेको होइन

गुलाफ रोप्न खोजेको होइन।

 

१०. भ्रमित जीवन

राजेन्द्र कार्की (क्यानडा)

राजेन्द्र कार्की (क्यानडा)

जीवात्माको अस्तित्व

अनि चेतको विकाससँगै

कति जीवन आए

कहाँबाट आए

कहाँ सेलाए अनि कहाँ बिलाए

आगमन र गमनको चक्र चलिरहँदा,

कति आए

कोसँग होला अभिलेख

धर्ती वा आकाश

अनि कति गए

कसलाई थाहा होला

मट्टी वा अग्नी ।

 

ब्रहाण्डको एक खण्डमा

किन बनायो एउटै आगमन पथ !

कसले बनायो एउटै चेत !

अरबौँमा स्वयम्लाई ब्रहाण्डकै

सर्वज्ञ अनि सर्वश्रेष्ठ ठान्दै

विधाताको सृष्टिलाई चुनौति दिन्छन्,

अभिमानले ढुस्स ढाडिन्छन्

मानौँ परलोकको बाटो बन्द भयो

सायद अभिमानी ती चेतहरु

पुर्नजन्म हुन्थे भने

यो धर्तीले

आफ्नो हत्या आफैँ गर्ने थियो ।

 

शून्यताबाट शून्यतामै हराउने चक्र

घुमिरहेको छ एकनासले निरन्तर

हराएका ती चेतहरु पुर्खालोकमा

फेरि के गर्दै होलान्

अनि कस्तो होला

त्यो पुर्खालोक,

शून्यता भित्रको शून्यतामा

भूलोकको तँछाडमछाडबाट

मुक्त भएर शान्त होलान्

अनि इहलोकबाट मोक्ष भएकाहरुको

स्वागतको लागि

पर्खिरहेका होलान्

सायद सम्पूर्ण पुर्खाहरु

स्वागतद्वारमा ।

 

त्यागेर देह

पुगिएला महाप्रस्थानको दुनियाँमा

सायद लागेन होला

मेरा पुर्खालाई पनि

जसरी जीवित चेतहरुलाई लाग्दैन,

देहलोक छाडेर परलोकमा

पुर्खासँग मिलनमा पुगिएला

विश्वासै लाग्दैन किन ?

भ्रमित छु म

अनि भ्रम जालको दुनियाँमा

किन भ्रमित छन् जीवनहरु ?