कवि एकान्त श्रीवास्तवको परिचय

एकान्त श्रीवास्तवको जन्म ०८ फरवरी १९६४ मा छत्तीसगढ़ रायपुरको एउटा गाउँमा भएको हो । उनले हिन्दीमा एम.ए., एम.एड. र पी.एच.डी. सम्मको शिक्षा हासिल गरेका छन् । उनका ‘अन्न हैं मेरे शब्द’ (कविता सङ्ग्रह) १९९४, ‘मिट्टी से कहूंगा धन्यवाद’ (कविता सङ्ग्रह) २०००, ‘बीज से फूल तक (कविता सङ्ग्रह) २००३, ‘कविता का आत्मपक्ष’ (निबन्ध) २००६, ‘शेल्टर फ्रामॅ दि रेन’ (अङ्ग्रेजीमा अनूदित कविताहरू) २००७, ‘मेरे दिन मेरे वर्ष’ (स्मृति कथा) २००९, ‘नागकेसर का देश यह’ (लमो कविता) २००९, ‘बढ़ई, कुम्हार और कवि’ (आलोचना) २०१३, ‘पानी भीतर फूल’ (उपन्यास) २०१३, ‘धरती अधखिला फूल है’ (कविता सङ्ग्रह) २०१३, ‘चल हंसा वा देश’ (यात्रा निबन्ध) २०१५, ‘कवि ने कहा (छानिएका कविताहरू) २०१६ जस्ता पुस्तकहरू प्रकाशित छन् ।

लामो साहित्य साधना गरेका उनले शरद बिल्लौरे, रामविलास शर्मा, ठाकुर प्रसाद, दुष्यन्त कुमार, केदार, नरेन्द्र देव वर्मा, सूत्र, हेमंत स्मृति, जगत ज्योति स्मृति, वर्तमान साहित्य-मलखान सिंह सिसौदिया कविता पुरस्कार, वातायन (साउथ बैंक) कविता सम्मान : लन्डन : २०१३, शोभनाथ यादव राष्ट्रीय सम्मान-२०१४, सृजनगाथा सम्मान- २०१५, स्पंदन कविता पुरस्कार- २०१५, वसन्त सम्मान- २०१६ आदि पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

उनका कविताहरू अङ्ग्रेजी तथा केही भारतीय भाषाहरूमा अनूदित छन् । उनले लोर्का, नाजिम हिकमत तथा केही दक्षिण अफ्रीकी कविहरूका कवितालाई अङ्ग्रेजीबाट हिन्दी भाषामा अनुवाद समेत गरेका छन् । उनले प्रसिद्ध हिन्दी पत्रिका ‘वागर्थ’ को सम्पादन पनि गरेका छन् । उनका कविताहरू विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश भएका छन् । हाल उनी कोलकातामा बसोबास गर्छन् ।

भाषान्तर कविताको यस शृङ्खलामा कवि एकान्त श्रीवास्तवका एघार कविताको अनुवाद प्रस्तुत गरिएको छ ।

१. सेलुलर जेल*

(सेल्युलर जेल)
एकान्त श्रीवास्तव

सेलुलर जेलका कोरिडोरहरूमा घुम्दै र तेर बाइ सातको कोठामा सास फेर्दै गर्दा म अब त्यस्तै थिइनँ; जस्तो गएको थिएँ त्यहाँ । मेरा निश्वासहरूमा दिक्क लाग्ने सासहरूको तातो गन्ध मिसिन थाल्यो । स्वतन्त्रता आन्दोलनको समयमा काला पानी बनेको पोर्ट ब्लेयर र यहाँ बनाइएको सेलुलर जेलको कथा र ऐतिहासिक र रक्तपातपूर्ण छ । दासत्व समाप्त हुन्छ र फेरि सुरु हुन्छ । कैयौँ स्वतन्त्रता अझै पनि दासत्वका अदृश्य कोठामा फसेका छन् । २१ औँ शताब्दीमा पुगेको यस उत्तर आधुनिक सभ्यतामा, उत्तर-पूँजीवादमा सेलुलर जेल एउटा प्रतीकमा परिणत हुन थाल्छ । इतिहासको रगत वर्तमान ढोकासम्म बग्दै आइरहन्छ ।
×××
म जेलको जगमा रहेको
ढुङ्गा बोल्दै छु
म- एउटा ढुङ्गा थिएँ समुद्र तटको

छालहरूले मलाई पखाल्थे
र ममाथि बसेर जुरेली
गाउँथ्यो ऋतुको गीत
त्यस बेला म थिइनँ तिर्खाएको ढुङ्गा

जेलको ढुङ्गा र समुद्र तटको ढुङ्गा
दुई बिछोडिएका दाजुभाइ हुन्
एउटा भिज्छ पानीमा
अर्को रगतमा

म ढुङ्गा हुँ अझै पनि
आतुर छु प्राप्तिका लागि
र त्यो प्राप्ति
भदौका भिजेका काला रातमा
झिल्को जस्तै
चम्किन्छ; त्यो स्वतन्त्रता हो
म ढुङ्गा हुँ तर छालहरूले
मलाई पनि एउटा हृदय दिएका छन्

जुन धड्किन्छ समुद्रका लागि
स्वतन्त्र हावाका लागि
र जुरेलीको गीतका लागि

म विगत हिजोको रगत हुँ
वर्तमानको धमनिमा
सल्बलाइरहेको
मलाई भत्काऊ
म चाहन्छु- हिरा जस्तै चम्किलो
मेरो एक टुक्राले
सजिन सकोस् भविष्यको मुकुट

सङ्कोच मान्दै म यस जेलको
कोठालाई हेर्छु
तेर बाइ सातको कोठा

जहाँ केवल एक झ्याल सानो
फलामे डन्डीयुक्त ढोका
स्वतन्त्रता सेनानीहरूका घाउ
र दुखाइको साक्षी हुँ म
‘इन्कलाब जिन्दाबाद’ का नारा
जसले मलाई तरङ्गित बनाउँथे
तिनीहरूको उत्साह जुन मभन्दा पनि
शक्तिशाली थियो
ढुङ्गा फुट्थे तर
उत्साह टुट्दैनथ्यो तिनीहरूको
घोडाका टापहरू
फलामे साङ्लाको आवाज
र कोर्राको पिटाइका बिच
भोक र घाउ, रगत र पीडाका बिच पनि
तिनीहरूको उत्साह
कहिल्यै टुटेन

यिनै उत्साहका पखेटामा
चढेको थियो स्वतन्त्रता
यो एक सपना थियो
स्वतन्त्रताको सपना
र यो कसरी अटाउन सक्थ्यो
तेर बाइ सातको अँध्यारो कोठामा
जसका जरा
सदावहार वनस्पति र सुगन्धित फूलका जरा जसरी
हजारौँ हजार थिए

र के थियो यो स्वतन्त्रता ?
के यो समुद्रमा उडान भर्ने
निलो माछा थियो ?
वा तटको रातो मुँगा ?
के थियो यो स्वतन्त्रता
जसका लागि यी मान्छेहरू
आफ्ना सबै थोक छोडेर
फाल हानेका थिए आगोमा
आगो जुन बल्थ्यो एक पटक
कहिल्यै ननिभ्नका लागि

यातनाका अनेक प्रकार छन्
यातनाका धेरै प्रकारहरू थिए
यहाँ जो कोही मर्न सक्छ यातनाले
फाँसीमा झुन्ड्याइन सकिन्छ
जो कोही पागल हुन सक्छ
शेर अली तिमी कसरी हकार्दै
गर्जनसहितको आवाजमा
उपस्थिति जनाउँथ्यौ- ‘हाजिर’
वीर सावरकरलाई दिइएको पचास वर्ष कैदको सजाय
त्यसको म्याद समाप्त हुनुअघि नै
समाप्त भयो दासत्वको लामो जीवन
जेलर ! तिमीलाई पनि त लगियो स्ट्रेचरमा
आफ्ना अन्तिम दिनहरूमा
तिमी पनि त मर्‍यौ कलकत्तामै
आफ्नै देशभन्दा
धेरै धेरै टाढा
जसले अरूको देश खोस्छ
चन्द्रमा जस्तै असम्भव हुन्छ
उसको पनि स्वदेश

हे भगत सिंहका असल मित्र !
मेरा सिंह ! महावीर
तिमी पनि त झुकेनौ अन्त्यसम्म
तिम्रो भोक हडताल अन्त्य गर्न
जबर्जस्ती पाइप हाल्यो तिम्रो मुखमा
आततायी जेलरले
दुध खुवाउन
जुन तिम्रो पेटको साटो
पुयो तिम्रो फोक्सामा
र बन्यो त्यही तिम्रो मृत्युको कारण
उड्यो प्राणपखेरु
तर तिनले अन्त्य गर्न सकेनन्
तिम्रो भोक हडताल
विजयी भयौ तिमी
तिमीले अन्तिम सास फेरेको त्यही बाटो हुँदै
आयो स्वतन्त्रता
कति सुनसान र भयावह बाटाहरू !
कैयौँका अन्तिम सासले निर्मित !

जेलको हावा
माथि उठ्दा
चर्किन्छ आकाशको ऐना
स्वतन्त्रता तारा खसे जसरी
खस्छन् धरतीमा
बनाउँदै एउटा चम्किलो रेखा

दृश्य हरेक दिन एउटै जस्तो
गर्मी र पसिना
निस्सासिँदो परिवेश र तिर्खा
त्यही धरती हो यो जहाँ मर्छौँ हामी
र फेरि जन्मन्छौँ पटक पटक
हजुर !
र कुनै अर्थ छैन हाम्रो गणना गर्नुको
कुनै अर्थ छैन
हामीले मात्र हात उठायौँ
कसैका अगाडि फैलाएनौँ यी हात

र यी आवाजहरू
घाइते भएका यी आवाज
के सुन्न सक्छौ तिमी यिनलाई
यहाँका पहाडहरूमा
अझै पनि भौँतारिइरहेछन्
तिनका प्रतिध्वनिहरू
सोचेका छौ तिमीले कहिल्यै-
कसरी बन्यो अण्डमानमा
समुद्रको आवाज !
र के कहिल्यै बन्न सक्छ
समुद्रको आवाज
मान्छेको आवाजबिना ?

हामीले घर फर्किनुपर्छ अब
हरेकले सोच्थे यहाँ
परदेशमा
देश पनि घर हुने गर्छ

तिमी जसले छोडेर गयौ
आफ्ना शोकाकुल मातापिता
भाइबहिनी, साथी-प्रियजन
र एउटा ढलपलाइरहेको डुङ्गा
समुद्रमा
डुङ्गा जसले सपना देख्छ किनाराको

र हेर, अझै पनि
कति चिसो छ बालुवा
र समुद्र फर्केर गइसकेको छ

जलिरहेको लेबनन हेर
अथवा इराक
भियतनाम बलिरहेको हेर
या प्यालेस्टाइन
देश के वन जस्तो हुन्छ
जसको जल्ने क्रम एउटै जस्तो हुन्छ !
तर चित्त बुझाउने बाटो मात्र यत्ति छ-
यो आगोमा
रोटी जसरी सेकिने गर्छ स्वतन्त्रता

वनफूल बाहिर मैदानमा फुल्थे
र भित्र जेलमा
आउँथ्को त्यसको बासना
बासनाको कुनै जेल हुँदैन
उनीहरू आफूसँगै ल्याउँछन्
पृथ्वीको सुगन्ध पनि

‘कसरी भत्काउनु हामीले सेलुलरका पर्खाल ?
कसरी तर्नु समुद्र
हामी चरा त होइनौं नि’
‘अनि हामी गाउने छौँ ठुलो ठुलो आवाजमा
गाउने छौँ हामी
र हाम्रो गीतको आवाज
उडेर चराहरू जसरी
तर्ने छ समुद्र…’

‘भोलि फाँसी दिइन्छ तिमीलाई
के गर्छौ तिमी दिनभर ?’

‘म घडी हेर्दिनँ, साथी
म रूखहरूलाई हेर्ने छु
दिनभरि चराहरूलाई
र रातभरि चन्द्रमालाई हेर्ने छु
यदि म बाँच्न पाएँ भने
एउटा सिङ्गो दिन …
म समुद्रमा उड्ने
निला माछाहरूको गीत गाउने छु
र दुई समुद्रका बिच
सानो टापु जति
सुत्ने छु
मेरा सपनाको सुगन्ध फैलने छ
सम्पूर्ण महाद्वीपमा
वनतुलसीको गन्ध जसरी
कसैले उसलाई रोक्न सक्ने छैन
अहँ; न कुनै छेकबारले
न कुनै सेलुलर जेलले…’

बाहिर घरहरूमा फर्फराउँछन् क्यालेन्डरका पाना
तर जेलमा
कसैले गणना गर्दैन मिति
रगतमा मुछिएका मितिहरू
यातनाको मसीले लेखिएका छन्
घाइते चराहरू जस्ता
पखेटा फड्फडाइरहेका मितिहरू
छाल उठेर पछारिएको समुद्र जस्तो
साहु पैसा गन्छ
पसल बन्द गर्नुअघि
गोठालो भेडा गन्छ
गोधूलि साँझमा
तर कसैले पनि मिति गणना गर्दैन
जेलमा

जसरी गुनकेसरी र सूर्यमुखीबिच भिन्नता छ
भिन्नता ‘हो’ र ‘होइन’ बिचको
जब तिमी भन्छौ ‘हो’
तब तिमी गँड्यौलामा परिणत हुन्छौ
यो मात्र ‘होइन’ हो
जसले मान्छे बनाएर राख्छ तिमीलाई
कोही भित्तामा लेख्छन्- ‘हैन’
कोही ढुङ्गामा
कोही चिच्याउँछन् सभामा
राज्यसत्ताका अगाडि- ‘हैन’
रातो रगतले रङ्गिन्छ

जे संसारबाट हराउँदै छ
त्यो ‘होइन’ हो
र त्यही हो मानिसको आत्मा

जब तिमी प्रतिरोध गर्छौ
धेरै गोरेटाहरू
तयार हुन्छन् यात्राका लागि
र फूलहरू फूल्न थाल्छन् घाँसहरूमा
वसन्तका पहिला पत्रहरू जस्तै

प्रतिरोध पनि एउटा ऐना हो
मानिस जसमा
हेर्छ आफ्नै अनुहार

तर ४७ साल बितिसक्यो
उहिल्यै बितिसक्यो ४७ साल
अगस्तको सूर्य रातो थियो
हाम्रो रगत जस्तै
र ऊ थिएन बाँधिएको
नेलहरूमा
हे मेरो देश ! मेरो भारत !
तर हेर त
अहिले पनि
हो; अहिले पनि
हावामा गन्ध कस्तो छ
समुद्र अझै गर्जन्छ
पछारिन्छ तटका ढुङ्गाहरूमा
र यो निकै अनौठो छ-
हावामा
अझै गन्ध आउँछ सेलुलर जेलको
तेर बाइ सातको
अँध्यारो कोठमा फिँजिएको गन्ध
र उड्दै गरेका
सेता परेवाका पखेटामा रगतको दाग

र पर्खालहरू समाप्त हुन्छन् यहाँ
सेलुलर जेलका
समाप्त हुँदैन सेलुलर जेल ।
•••
*सेलुलर जेल, जसलाई काला पानी पनि भनिन्छ, अण्डमान-निकोबार टापुमा अवस्थित छ । यो भारतको औपनिवेशिक जेल थियो । जेललाई बेलायती सरकारले राजनैतिक बन्दीहरुलाई टाढाको द्वीपमा निर्वासित गर्नका लागि प्रयोग गर्थ्यो ।

 

२. ताजमहल

एकान्त श्रीवास्तव

तिमी प्रेम गर
तर ताजमहलका बारेमा नसोच

यसै पनि यो
साधारण प्रेमीहरूको क्षमताभन्दा बाहिर छ

त्यो स्त्री, जसलाई प्रेम गर्छौ तिमी-
दिन चाहन्छौ केही भने
देऊ ऊ जीवितै रहँदा

उदाहरणको लागि, कात्तिकमा बारीमा फुलेको
ठुलो पहेँलो सयपत्रीको फूल
यो निकै जीवन्त उपहार हुने छ

यसै पनि इतिहास साक्षी छ-
जसले ताजमहल बनाउँछ
काटिन्छन् उसका दुवै हात ।
•••

३. अनार

एकान्त श्रीवास्ताव

यो फलसित उसको परिचय
वर्णमालाको पहिलो अक्षरबाटै भएको थियो
देख्न धेरै पछि पायो
खान कहिल्यै पाएन
वास्तवमा जति मूल्य थियो
एउटा अनारको बजारमा
त्यतिमा आधा किलो चामल किन्न सकिन्थ्यो
र, पूरै घरका लागि पाक्न सक्थ्यो भात
एउटा अनारका कारण
पाँचसात जना-
भोकले बिरामी हुने खतरा थियो ।
•••

४. अङ्गुर

एकान्त श्रीवास्तव

रक्सी बन्थ्यो अङ्गुरबाट
र, मात धेरै बेरपछि उत्रिन्थ्यो
असङ्ख्य गरिब केटाकेटी
रक्सीको हैन
अङ्गुरको मातमा हुर्कन्थे
रक्सीको मात चाँडै उत्रेर जान्थ्यो
अङ्गुर खाने रहरको मात
कहिल्यै पनि उत्रिन्नथ्यो ।
•••

५. नासपाती

एकान्त श्रीवास्तव

केवल नासपाती एउटा यस्तो फल थियो-
जसलाई खाँदा मात्र उसले थाहा पाउँदैनथ्यो
ऊ बिरामी छ
जब ऊ हाँस्थ्यो-
कसैले थाहा पाउन्नथ्यो
कुनै बिरामी हाँस्दै छ
हाँसोले ऊ धोका दिन्थ्यो संसारलाई
र, नासपातीले आफैलाई ।
***

६. दुःख

एकान्त श्रीवास्तव

दु:ख जबसम्म हृदयमा थियो
थियो हिउँ जस्तो
पग्लिएपछि उर्लियो आँसु बनेर
झरेपछि पानी जसरी माटोमा
रसाएर गयो भित्र बीजसम्म
बीजदेखि फूलसम्म
यो फूल जुन फुलेको छ हाँगामा
के यसलाई हेरेर तिमी भन्न सक्छौ-
यसको जन्मको कारण
दुःख थियो ?
•••

७. विरुद्ध कथा

एकान्त श्रीवास्तव

पहिले भावहरू जन्मिए
पछि शब्द
त्यसपछि जन्मिए ती शब्दहरू गाउने कण्ठहरू
अझ पछि जन्मिए कण्ठहरू थिच्ने हातहरू

पहिलो सूर्य जन्मियो
पछि पृथ्वी
त्यसपछि पृथ्वीमा बस्ने मानिसहरू
अझ पछि ती मानिसहरूलाई सताउने प्रणालीहरू

पहिले ढुङ्गाको उत्पत्ति भयो
फेरि आगो
त्यसपछि आगो जोगाउने धुनीहरू
अझ पछि उत्पत्ति भए धुनी निभाउने इन्द्र

जो जन्मिए, तिनीहरू मरेनन्
हत्याराहरूका विरूद्ध उभिए
हामी फूल थियौँ
ढुङ्गा बन्यौँ
कठोर भयौँ
यसरी यस धरतीमा हुर्कियौँ ।
•••

८. यात्रा

एकान्त श्रीवास्तव

नदीहरू थिए हाम्रा बाटामा
तर्नु थियो तिनलाई पटक पटक हामीले

एउटा सूर्य थियो
त्यो अस्ताउँदैनथ्यो कहिल्यै

मानौँ सोच्ने गर्थ्यो- म अस्ताएपछि
मानिसहरूको के हुन्छ

एउटा जङ्गल थियो
नोभेम्बरको घामले नुहाएको
फूलहरू थिए केही
जसको नाम थाहा थिएन हामीलाई

खेत थियो एउटा
धानको
पाकेको
जो प्रसन्न हुन्थ्यो
धारिलो कँचियाको स्पर्शले

एउटा निलो चरा थियो
अमलाको नुहेको हाँगाबाट
उड्न तम्तयार

हामी थियौँ
पुराना गथासाका पोकाहरू खोलिरहेका
आफ्ना भोक, निद्रा र थकाइहरूसँग जुधिरहेका
धुलो उड्दै थियो लगातार
तैपनि छोप्न सकेको थिएन हाम्रो मुस्कान
तर हाम्रो कपाल अवश्य
पाट जस्तो देखिन्थ्यो

चिसो थियो पहाडको
हाम्रा हड्डिभित्र पस्दै गरेको
साँझबत्ती बाल्ने बेला थियो
पहाडमा कतै कतै
ज्योति-पुष्प जडान गरे जस्तो

एउटा कच्ची सडक थियो
निरन्तर हामीसँग
सान्त्वना दिइरहेको-
तिमी कुशल मङ्गम पुग्ने छौ घर ।
•••

९. विस्थापन

एकान्त श्रीवास्तव

म धरै टाढाबाट उडेर आएको पात हुँ
यहाँको हावामा रुमल्लिरहेको
यहाँका समुद्र, पहाड र रुखहरूका लागि
अपरिचित, अनजान, अचिनारु

जसरी टाढाबाट आउँछ समुद्री हावा
टाढैबाट आउँछन् प्रवासी चराहरू
सुदूर अरण्यबाट आउँछ बासना
प्राचीन पुष्पहरूको
म टाढाबाट उडेर आएको पात हुँ

रापिएको छु म पनि
प्रचण्ड तापमा सूर्यदेवको
प्रचण्ड वायुले चुमेको छ मेरो पनि ललाट
जोडिन चाहन्छु फेरि कुनै हाँगासँग
रङ्गिन चाहन्छु वसन्तको गुलाबी रङमा

नयाँ भूमि
नयाँ वनस्पतिहरूलाई
प्रणाम गर्न चाहन्छु
म टाढाबाट उडेर आएको पात हुँ ।
•••

१०. एक बेरोजगार प्रेमीको आत्मालाप

(एक बेरोज़गार प्रेमी का आत्मालाप)
एकान्त श्रीवास्तव

भोको मानिसले
कसरी प्रेम गर्छ श्रीमान् ?
बगैँचाको हरियालीले कसरी समाप्त पार्न सक्छ
जीवनको खडेरी ?

निहुँरिन्छु जब
प्रेमिकाको अनुहारमा
चुम्बन हैन, जागिर माग्छन् उसका ओठ

प्रेम-पार्कको बेगनबेलीले
रोजगारीको समस्यामा
के कुनै सार्थक भूमिका निर्वाह गर्न सक्छ श्रीमान् ?
इन्द्रकमल, जुही र चम्पाका अगाडि
कसरी शिर उठाउन सक्छन्
रफु गरेका हाम्रा कमिजमा
बहिनीले हातले बनाएका फूल ?

तपाईँ ओछ्याइदिनुस् हरियो घाँसको गलैँचा
र पनि बाँकी रहन्छ केही जलेको जमिन
प्रेमिकाहरूको निद्रा र हाम्रो भविष्यमा
उड्ने छ त्यसको खरानी

ती आँसुहरू
अझै पनि बगेका छैनन् प्रेमिकाका गालाहरूमा
रातभरि बर्बराउँछन् ती- यहाँ उम्रिँदैन केही
सायद यहाँ उम्रन्न केही पनि

एक दिन जब पाउने छौँ हामी
प्रेमिकाहरूका चिठी
जसमा चिह्नित हुने छ उनीहरूको मङ्गल परिणय
र सबैथोक बिर्सिदिने अनुरोध
हामीलाई सडक र त्यहाँको धुलो नै
राम्रो लाग्ने छ श्रीमान्

त्यति बेला तपाईँको बगैँचामा
स्मृतिहरू हुने छन् पुतली जस्तै उडिरहेका
हामी चुपचाप रुन पनि त सक्ने छैनौँ श्रीमान् !
•••

११. सुन्दरता

एकान्त श्रीवास्तव

जे सुन्दर देखिन्छ
नजिकैबाट हेर्दा त्यो हुँदैन सुन्दर
जे सुन्दर छैन
नजिकैबाट हेर्दा त्यही देखिन्छ सुन्दर

मन-मस्तिष्कले तिनै सुन्दर छन्
जो छैनन् सुन्दर शरीरले
तातो घाममा चम्किरहेको बालुवा
टाढाबाट सुन्दर देखिन्छ
जे टाढाबाट
र नजिकबाट देखिन्छ सुन्दर
त्यो वास्तवमै सुन्दर हुन्छ

शब्दहरू सुन्दर छैनन्
सुन्दर छन् यसमा लुकेका विचार
विचारको यो घामलाई
संसारमा ल्याउने इच्छा सुन्दर छ
भोक सुन्दर छैन
भोको विरुद्ध लड्ने इच्छा छ सुन्दर
दुःख छैन सुन्दर
सुन्दर छ दु:ख सहने शक्ति ।
•••