जीवन तिवारी

धेरै कविहरूले धेरै कविताहरू लेखे,
कविहरूले लेखे सूर्योदयको कविता
र लेखे सूर्यास्तको कविता पनि

कविहरूले लेखे
आमाको दशधारा दूधको धर्म र मर्मको कविता
र लेखे एउटा बुबाको
सन्तानप्रतिको कर्मको कविता

कविहरूले लेखे
अँध्यारााको कविता
र सँगै लेखे उज्यालााको कविता पनि

कविहरूले जब प्रेमको कविता लेखे
तब छुटाएनन् लेख्न वियोगको
कविता पनि

कविहरूले कहिले हिमालको कविता लेखे
कहिले पहाडको कविता लेखे
र लेखे तराईको कविता पनि
उनीहरूले वनको कविता लेखे,
जङ्गलको कविता लेखे
खोला, नाला, झरना र माटाको
कविता पनि लेखे ,
र सँगै उनीहरूले प्रकृतिका बारे
एउटा सुन्दर कविता लेखे

कविहरूले आकाशको कविता लेखे
र सँगै लेखे पातालको कविता पनि
उनीहरूले भगवान् र दानव दुवैको
कविता पनि लेखे

कविहरूले कहिले बन्दुकको कविता लेखे
कहिले गोलीको कविता लेखे,
कहिले रगतको कविता लेखे
त कहिले
पसिनाको कविता लेखे

कविहरूले बुद्धका बारे पनि कविता लेखे
र लेखे सँगै हिटलरको कविता पनि

कविहरूले सबैकाा बारे कविता लेखिसकेपछि
उनीहरूले स्वयं कविका बारे कविता लेखे
कविहरूले कलमका बारे पनि कविता लेखे
कविहरूले मसीका बारे पनि कविता लेखे
कविहरूले शब्दका बारे पनि कविता लेखे
तर
लेखेनन् कसैले कविताका बारे एउटा पनि कविता

कविले मात्र आफ्नो भावना लेखे कविताबाट
तर लेखेनन्
कविताको भावनाहरूको बारे कविता,
कविहरूले पोखे कविताबाट
आफ्नै मात्र चाहनाहरू,
उनीहरूले लेख्न खोजेनन् कविताका चाहनाहरू
कविहरूले लेखे आफ्नै मात्र आक्रोशहरू
कविहरूले आफू नियममा बाँधिनुपर्दाको पीडा
लेखे कविताबाट
तर लेखेनन् या देखेनन्
कविताको छन्दमा बन्द हुनुको पीडा
कविहरू कविताद्वारा
आफ्नै मात्र आवाज बोलिरहे ,
कसैले सुनेनन्/लेखेनन् कविताको आवाज कवितामा

अब कविताको एउटै चाहना छ
अब जन्मनुपर्छ एउटा यस्तो कवि
जसले कविताका बारे मात्र कविता लेखोस् ।।

 

 

देवदह,खैरेनी