रवीन्द्र लम्साल

एकान्तबास सुनसान

आकस्मिक बन्दाबन्दी

जहाँ

कतै खैलाबैला, हल्लाखल्ला छैन

तथापि

बेखर्ची, बेसाहारा भै

झमझम झरिमा रुझेका माउबिनाका चल्लाझैँ

आफ्नो गुँड भेट्टाउन

बख्खु चप्प्पल पट्याँस-पट्याँस पट्काउँदै

अनिश्चित यात्रामा निस्केका

निरीह पाइलाहरूको मन्द आवाजबाहेक !

मलाई न कुनै आवाजले छुन्छ

न त कुनै रोदनले

सुनसान यही मौसममा

मेरो मथिङ्गलमा

बेमौसमी तानाबाना चल्छन् अनि

पुराना, काला, ढुसी पलाएका

खोइलाहरू सँगाल्छु,

बर्सौ भो खेतबारी बाँझै छ,

न नयाँ मकै छन् न नयाँ खोइला, त्यसैले

तिनै मक्रालिएका खोइला टिपनटापन गर्दै

एउटा कटेरी ठड्याउँछु अनि

एकोहोरो त्यसैलाई हेर्दै खितखितिन्छु !

हेर्दाहेर्दै कठै मेरो कटेरी

अनायासै गर्ल्याम्म ढल्छ

घरी रुँन्छु घरी हाँस्छु

मेरै अगाडि

मेरो पौरख ढलेको देखेर !

आफैँ सम्हालिँदै

ठुलासाना खोइला-खोइली बटुल्दै

लामालाई भाँच्दै, छोटालाई गाँस्दै

पुनः ठड्याउँछु मेरो कटेरी –

सन्तुलन मिलाउन चारै कुनामा

साना-साना काला ढुङ्गा

धागाले बाँधेर झुन्ड्याएको छु

ढल्नै लागेको परालको टौवामा झैँ जताततै

सुकेका खिर्रो र फदेलाका सिन्का चिरी चिरी

टेका लगाएको छु !

ढुक्क छु अब –

न कुनै भुईँचालो न कुनै तुफान,

कसैले हल्लाउँनै नसक्ने गरी

अजम्बरी स्तम्भ बनेको छ

मेरो सुन्दर खोइलाको कटेरी !

हाल- टोरोन्टो, क्यानडा