
धर्मिला कार्की
आमाको माया शितल छाँया जन्मेको भूमिमा
सहन्छिन् पीडा हाँसेरै उनी बच्चाको खुसीमा
आमाको जस्तो पाइन्छ कहाँ निःश्वार्थ भावना
आमा नै हाम्रो जीवित देवी गरौँ है वन्दना।
आमाले सधैँ सन्तान खोज्छिन् आँखाका अगाडि
नखाए पनि अघाएँ भन्छिन् बालाका अगाडि
आमाको आँखा जहिले देख्छ सानै छ सन्तान
ममता दिन्छिन् सदैव उस्तै भए नि जवान ।
कसैले पनि ममता दिन्नन् आमाका समान
गरेर यहाँ सकिन्न कैल्यै आमाको बयान
सिक्नु छ बाँच्न आमाको जस्तै सत्कर्म गरेर
साहस, धैर्य, सुन्दर सोच मनमा भरेर।
बाआमा सधैँ बच्चाका लागि शीतल छहारी
सन्तान ईर्ष्या गर्दै छन् होला खेलेर जुवारी
रचेका त्यसै होइनन् होला पुर्खाले उखान
ढुङ्गाझैँ पार्छन् कठोर मन भए नि खानदान।
दृष्टान्त काफी हेरेर होला जालको माकुरी
जसले गर्छन् आमाको हेला उनै हुन् आसुरी
सन्तान अट्छन् दर्जन जति एउटै घरमा
एउटी आमा अटिनन् यहाँ बुढेसकालमा।
गुमाए धर्म हरायो नीति पठाए आश्रम
पालोको पैँचो आफूले भोग्दा बुझ्लान् है यो मर्म
छोराको यहाँ बन्दै छ बस्न नौ तले भवन
निर्दयी भए सन्तान जति रुँदै छ यो मन।
चाहना थियो पिउन पानी सन्तानको हातले
अन्तिम क्षण आउला भनी सम्झिए आशले
अनेक कष्ट भोगेर जन्म दिएको के अर्थ ?
म मरेपछि पुराण पूजा लाएको के अर्थ?
चिसङ्खुगढी -३, ओखलढुङ्गा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
