शशी भट्टराई श्रेष्ठ

एउटा भद्र र गम्भिर मान्छे ऊ,
रातभरि,
जातीय विभेदको कथा लेख्छ
र भेरीको डिलमा बसेर
मायामा मृत्यु साट्नेहरूलाई
निर्दयी मान्छेको कथा सुनाउँछ ।

उसका कथाहरू अनौठा हुन्छन्
त्यहाँ, बुद्ध बन्दुक बोकेर दौडन्छ
अनि
हिट्लर शान्ति वार्तामा बस्छ ।
सर्रियल उसका कथाहरूमा,
ऊ सरकार बन्छ र
लिम्पियाधुरामा ग्रेटवाल सार्छ,
स्वास्थ्य र शिक्षा निःशुल्क पार्छ र
किताबहरू कर फ्रि गरिदिन्छ।

कथाको मध्यभागमा
ऊ केही आक्रामक देखिन्छ
लादेनले ट्विनटावर उडाएझैँ ऊ
बलत्कारीको टाउको उडाउँछ

लिङ्गलाई टुक्रा-टुक्रा पारेर त्यो
भोको गिद्धलाई भोज खुवाउँछ ।

त्यो भद्र र गम्भीर मान्छे,
आफ्नो खप्परको ल्याबमा
दु:खै दु:खको भाइरस जन्माउँछ,
कहिले त्यै दु:ख ओढ्छ
त कहिले ओछ्याउँछ ।

ऊ प्रत्येक दिनसँगै ब्युँतन्छ र
हरेक रातसँगै मर्छ
इच्छा र अनिच्छाको द्वन्द्वमा
अलिकति बाँच्छ र धेरै मर्छ
यताउति हेर्दै,
व्यक्तिगत सुखको परिभाषा खोजिरहन्छ,
त्यो मान्छे !

त्यो भद्र मान्छे!!