साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पोस्टरकविता अभियान शृङ्खला ४६

गैब्रियल गार्सिया मार्खेजले आफ्ना कथा “आई सेल माइ ड्रिम्स” अर्थात “म आफ्ना सपनाहरु बेच्छु” मा एउटा नारी पात्रको प्रयोग गरृका छन् । यश कथाले एउटा जादुई सुराग दिन्छ जहाँ नेरुदा र मार्खेज आउँछन्र एउटा यस्ता वृतान्त देखिन्छ जहाँ सबै भरोसा गर्न नसके पनि भरोसा गरेका छन्।
कथामा एक नारी फ्राउ फिडा छिन् जो सपनाहरु देख्छिन र भविष्यमा हुन आउने कुराहरु मानिसहरुलाई बताउँछिन्।
ती सपनाहरुले चेतावनी दिएपछि मानिसहरु घरबार सब छोडेर मुलुकै छोडेर अरु कतै जानछन्। एक दिन फ्राउ फिडाको भेट चिलीका कवि पाब्लो नेरुदासित हुन्छ। उनले नेरुदालाई पनि त्यस्तै अद्भुत सपनाहरुबारे बताउँछिन् र कविलाइ डराउन खोज्छिन्। पाब्लो नेरुदाले भन्छन्- मलाई सपनाहरुमा होइन तर कविताको शक्तिमाथि भरोसा छ।
कविताले बोक्ने शक्ति साँच्चै अद्भुत छ। मार्खेजले आख्यान बढी लेखे तर कवितामा उनलाई पनि नेरुदाजस्तै भरोसा थियो र उनले आफ्ना कथामा कविताको महिमा गर्न लाए।

प‍ोस्टरकविताले पनि त्यही भरोसा बोकेर यो समयसम्म कविहरुलाई लिएर हिँडिरहेको छ। य‍ो मास्तिरको छोटो खण्डबाट मैले भन्न चाहेको कुरा, एउटा सर्जकले अर्को सर्जकको कामको कदर र त्यसमाथि भरोसा गर्नु आवश्यक छ। कविहरु धेरै थरिका हुन्छन्। कविहरुमा कविता छपाउने लालसा हुन्छ। सर्जकहरु प्रशंसाको भोका पनि हुन्छन्। केही हदसम्म यो ठीक पनि हो तर यसैमा केन्द्रित भएर गरिएको सृजना खतरामा हुन्छ। कविले आफ्नो कविता मात्र छापियोस् र उनको कविताको तारिफ भइरहोस् भन्ने सोचबाट बाहिर आउनु आवश्यक छ। कविले आफू मात्र कविता नलेखेर अरु कविहरुलाई पढ्नु र उनको कवितामाथि भरोसा गर्नु जरुरी छ।

पोस्टरकवितामा हामीले नयाँ पुराना सबै कविहरुलाई ठाउँ दिइरहेका छौँ । यसमा परेका कविहरुले आफ्नो कविता छापिएपछि अन्य राम्रा कविहरुको कविता छपाउनलाई कविताहरु रेफर गरेका छन्।

हामी कविहरुलाई निजी रुपमा चिन्दैनौँ तर जब उनीहरुका कविताहरु हाम्रो डेस्कटपमा आइपुग्छ, एकै झलकमा त्यो कविता प‍ोस्टरमा लाउने इच्छा हुन्छ।

साहित्यमा पक्षपात (निपोटिजम) नगरी अनुज तथा अग्रजलाई ठाउँ दिनु हाम्रो उद्देश्य हो।

कविताको शक्ति प्रवल छ। एक कविले कविता लेखेर सामर्थ्य देखाउन सक्दैन तर सामूहिक रुपमा कविहरुले जब कविता गर्छन्, पाब्लो नेरुदाका कुरामाथि नचाहेर पनि भरोसा गर्न कर लाग्छ । वास्तवमा त्यस्ता कविताले नै समाजमा हलचल ल्याउने गर्दछन् ।

यसपालि २० कविहरुलाई हामी पढ्दैछौँ, यसमा परेका कविहरु आफू मात्र कविता लेख्ने वा छपाउन रुचाउने होइनन्, अन्य कविहरुका कविताको शक्ति चाल पाउनेहरु छन्।

पोस्टरकवितालाई यो उचाईमा पुर्याउने सारा श्रेय कविहरूको शक्तिशाली कविताहरुलाई नै जान्छ।

पोस्टरकविताको उद्देश्य पोस्टरकविताको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने हो। कवितामा विचार र कलाको छुट्टै फ्लेभर हामीले पोस्टरकविताबाट पाठकहरुसम्म पुर्याउन चाहेका हौँ। पोस्टर त कविताहरुको बिम्ब प्रतीकबाट सृजित भएको हो। काव्यिक चित्र त कविको मन मष्तिष्कमा पहिल्यै आइसकेको हुन्छ । अक्षरमा ती चित्र प्रस्फुटित भएपछि मात्र पोस्टर तैयार भएको हो। पाठकले खासमा पढ्ने कविता हो, पोस्टरले कवितातर्फ खिँच्ने काम मात्र दुःखसुख गर्दैछ।

पोस्टरकवितालाई माया गरिरहनुहोस्। राम्रा कविहरुको कविता पढ्नुहोस्। र, ओझेलमा बसेका कविहरुलाई विश्वभरि छरिएर बसेका नेपाली पाठकहरुसम्म पुर्याउन सहयोग गर्नुहोस्।

राम्रा कविताहरु पोस्टरकवितामा छापियुन्।

सम्पादक
रवि रोदन
साहित्यपोस्ट पोस्टर कविता

     

 

लेखक परिचय

३१ दिसम्बर १९७८ मा गान्तोकमा जन्मनु भएका रवि रोदन विज्ञानमा स्नातक हुनुहुन्छ । शिक्षण पेशामा आबद्ध उहाँ सिक्किम, मार्चकनिवासी पिता स्व. बिरेन्द्र रसाईली र माता विमला खातीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।

सातौँ श्रेणीमा पढ्दैदेखि फाटफुट कविता लेख्ने रविको हालसम्म "समय स्ट्रोक्स" (२०१५) कविता सङ्ग्रह प्रकाशित छ ।

रविको नेपाली र हिन्दी दुवै भाषामा कलम चल्ने गरेको छ । कविताका अतिरिक्त आख्यान लेखनमा पनि उहाँको रुचि छ हाल उहाँ कविता, जीवनी र आख्यानका पुस्तकहरूको प्रकाशनको तर्खरमा हुनुहुन्छ ।

हाल उहाँ जुम पश्चिम सिक्किमको एउटा गैरसरकारी स्कुलमा विज्ञान तथा गणित विषयका शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ ।

उहाँले २०१६ मा साहित्य अकादमीको निम्तामा अल इन्डिया पोएट्री फेस्टिभल, दिल्लीमा नेपाली भाषाका कविका रूपमा प्रतिनिधित्व गर्नुभएको थियो । त्यस्तै साहित्य अकादमी, दिल्ली र सृजनशील साहित्य लेखन मञ्चको तत्वावधानमा आयोजित कार्यक्रममा सहभागिता जनाउनु भएको छ । जोरथाङमा २०१५ देखि 'कफी कविता' नामक साहित्यिक कार्यक्रमको नियमित रूपमा सञ्चालन गरिरहनु भएको छ । उहाँले आफूले पढाउने स्कुलमा विद्यार्थीहरूलाई लिएर 'उकेरा' नामक साहित्यिक कार्यक्रम चलाउने गर्नुभएको छ, जसका कारण कविता विधामा राम्रा राम्रा सर्जकहरूले आफूलाई परिचित गराइसकेका छन्। यसैगरी साहित्यपोस्टका नियमित स्तम्भ 'पोस्टर कविता'का स्तम्भकार उहाँले छोटा छोटा कविता पाठकहरूसम्म पुऱ्याउनुका साथै किताब कुटीर पेजमार्फत पठन संस्कृति बढाउन भूमिका खेलिरहनु भएको छ ।

प्रतिक्रिया
Loading...