कवि परिचय
ध्रुव मधिकर्मी नेपाली साहित्यमा परिचय दिनुपर्ने नाम होइन । नेपालभाषामा उहाँको एउटा कथा सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । उहाँको कथा सङ्ग्रहलाई ने. सं. ११०९ मा श्रेष्ठ सिरपाः पुरस्कार प्रदान गरिएको थियो । उहाँ नेपालभाषा परिषदका सचिव हुनुको साथै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य पनि हुनुहुन्छ ।
छोट्टिँदै गएका पाइलाहरू
ध्रुव मधिकर्मी
आफ्नै गोडाले टेक्दै टेक्दै
दौडिरहेको छ समय
पछि-पछि मानिसहरू
घडी हेर्दै हेर्दै
गफिँदै छन् ।
प्वाल परेको खल्तीमा
समयलाई कोचेर
हात बाँधेर
घाम ताप्दै
कोही बरफ चुस्दै छन् ।
घरमा चुल्हो बालेर
हतारिँदै आएका ग्राहकहरूलाई
पर्खाउँदै
निदाउँदै छन् पसलेहरू ।
पखेटा काटिएका चराहरूले
छोपिएको छ आकाश
पल्टाउँदै छन्
बाँदरहरूले देशको नक्सा ।
छोटिँदै गएका पाइला
गन्दै गन्दै
ठड्याउन खोज्दै छ
सूचीपत्रको धरहरा ।
कुल्चिँदै चेतनालाई
खोप्दै आकारहरू
किसिम किसिमका मालसामानहरूका
ट्रेडमार्क छाप हेर्दै मानिसहरू
कोठा सजाउन
कुनचाहिँ राम्रो होला भन्दै
रोज्दै छन् ।
श्रोतः नःलि साहित्यिक मासिक, ने.सं. ११३१ चिल्ला (फागुण २०६७)
मूल नेपालभाषामा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।