म सहर पस्ने
मभित्र सहरका रहर पस्ने
हरेक रहरमा हरेक प्रहर फस्ने
त्यसैले अब म
सहर नपस्ने
केवल घर बस्ने
किनभने
सहर विदेशजस्तो र
गाउँ स्वदेशजस्तो लाग्छ
अचेल मगजमा मलाई ।
हो, अब म घर बस्ने
बारीमा पस्ने
फूलको छहारीमा बस्ने
रहरहरू टाढा राखेर
सहरहरूमा बेचिएर हैन
बेचेर एक थान श्रमको उत्पादन
तोड्नु छ अनेक भ्रम
भ्रष्ट सपनाहरू बगाएर खोलामा
सफा गर्नु छ बारी र
उमार्नु छ बाली

नसा नसामा रक्तसञ्चारका लागि ।

भानसिंह धामी

तैपनि भर्खरको बालक
आँखामा अमेरिका देख्छ
कानले कोरिया सुन्छ
र जिब्राले जापान बोल्छ
अनि काटिदिन्छ
मेरो रहरको जरा
हातले हँसिया समातेर
‘ओल्ड फेसन्ड’ भनेर
हो, ऊ हिँड्न चाहन्छ
दुःखको ‘मोडर्नाइज्ड’ घडीमा
सुखको सेकेन्ड बनेर
र त
नचाहेर पनि
भन्नैपरेको छ मैले – ‘तथास्तु’।