साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कलुषित पृथ्वी

कविता

पृथ्वीको छातीमा रगतको टाटो देख्दछु
जति चिथोरे पनि
मृत्युबाहेक केही नफलेको,
विज्ञानका चमत्कारहरुले
मृत्यु सरेको होला केही समय
डरेको छैन, टरेको छैन
उर्वरता गुमाएको माटो देख्दछु ।

सीमाको पर्खालले भाइ-भाइमा फाटो देख्दछु
बास आवास नै प्रवास भएका
प्रेम स्खलित भै
सहवास भएका
मासहरु अपमनित भै
मलमास भएका
यस्तै-यस्तै अल्झिएको गाँठो देख्दछु
युवाहरुको मस्तिस्कमा राँटो देख्दछु ।

विचारहरु विचारिएका छन्
दर्शन शास्त्र फिँजारिएका छन्
नखुलेको जीवन रहस्य
नसुल्झेको समस्या
अनुभवको अछुतै पाटो देख्दछु
अनुभव बिना अल्झिएको बाटो देख्दछु
मान्छेका मन-मनमा घाउको खाटो देख्दछु ।

प्रतिक्रिया
Loading...