
ती बाजा मुरली बजुन् दिनदिनै सङ्गीत फेर्दै उठ
साहूका पिरबाट मुक्ति दिनहूँ आनन्द भर्दै उठ ।
मेरो राष्ट्र बचोस् बिहान नहुँदै वैरीहरू खेदिऊन्
सारा दोष पखालिओस् अवगुणै मैलोसरी धोइऊन् ।।
हत्याका अभिलेख फेरि नबनुन् हिंसा सबै रोकिऊन्
भाग्बन्डा नगरी विकास गरियोस् नेताहरू फेरिऊन् ।
मान्छे मै अविवेक किन्न कसरी कस्ले दियो योजना
साँच्चै नै सुकुमार बन्न सकिने कस्ले दियो सूचना ।।
मेधावी जनता विदेश नबसुन् छिट्टै फिरुन् देशमा
त्यो सेतो पटुकी भिरेर खुकुरी आफ्नै चिनो भेषमा ।
चौपाया वनका चरेर फिरिऊन् वन्मै नहुन् बास ती
आमाका सहरा जवान जगका बाबा गरुन् आश ती ।।
ज्यालाका श्रमका विकाम मनका भोकै नहुन् दुर्गति
खेतीका करका अनाज नभए भोकै बसुन् के र ती ?
तिन्को प्यार हुने भए यदि भने कर्मै गरौला तिमी
तिन्को प्यार नपाउने सकल हो भाग्यै हरौला तिमी ।।
मोती फल्छ यिनै जुहार नबने के राज गर्छौ तिमी
हीरा रत्न फुलेर बास नछरे विश्वास टुट्छौ तिमी ।
कस्तो काम गरे भुलेर जनता वैसम्य गर्लान् सब
पीडा मुक्त गरी खुसी दिनसके को दुष्ट बन्लान् अब ।।
कपन
काठमाडाै



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 




