देविका मङ्ग्राती राई (खरसाङ)

‘चिया-मजदुर जिन्दावाद,

जिन्दावाद, जिन्दावाद !’

नेतालाई फोन आउँछ

ऊ भन्छ-

‘देखावटी मात्र सर ।’

 

भोलि गोजीभरि नोटका बन्डल उसका

सेती, धने, फूलमाया, मनबहादुर, ठूले…

गला सुकेर चिसो पानी

पिउँछन्, ‘जिन्दावाद’ पछि

फेरि फलाक्छन् ‘जिन्दावाद

जिन्दावाद !’

 

ऊमाथिको काँचको झ्यालबाट

मालिक चियाउँदै छ भीडतिर

मुसुक्क मुस्काउँदै

‘फ्लावरी ओरेन्ज पिको’ को फ्लेभर

चियाको चुस्की एउटा हातमा

अर्को हातमा विदेशी चुरोट

बहुमूल्य हीराको औँठी टल्काउँदै

आज गम्बुट, बरसाती,

डोको, नाम्लो

आराम गर्ने दिन सबैको

मजदुर दिवस उन्मुक्त हुने ।

फूलमाया हेर्छे गम्बुटको

बाफले पिल्सिएका

सेतासेता पैताला र औँलाहरू

टनटन दुखेका हातका

औँलाका टुप्पाहरू

साइरन बजेन आज

यसैले हेर्दै छे टनटन दुखेका

छाला उप्किएका हातका औँलाहरू

कैलो केशराशि रङ्गाएको होइन  ।

 

तर वर्षभरिका घाम, पानी, चिसो, ताताले

तताउँदै, भिजाउँदै, सेलाउँदै, डढाउँदै

टाउकाभरि पारेर रँगाएका

केशराशिहरू

लाचार बनिसकेका शरीर र मनहरू

पत्तीको ओजन बढाउने आदेशमा,

चलायमान तीनवटा फुर्तिला औँलाहरू

तर खोइ बुझेका-

सम्झेका हरिया सुनका व्यापारीहरू ?

किन यति निष्ठुर ?

ढुङ्गाका मन बोकेकाहरू !

 

अब त प्रायः घरहरू रित्ता छन्

युवाहरू पलायन भइसके

भविष्य अँध्यारो देखेर

उज्यालातर्फ

गर्मी, खटाइ, दुखाइ सहँदै भए नि ।

 

सिकुवामा बसेर छाम्दछ निधार धने

अनगिन्ती दुःख, पीरमर्काका धर्काहरू

उमेरभन्दा धेरै पाका भएका

खिइएका नङ, फाटेका कपडा

एक भारी दुःख, सानो अँगालो सुख

निम्न रोज, निम्न बोनसका

उठाउनु नै छ आवाजहरू

पुग्ने हुन् कि होइनन् र आवाजहरू

कारण, मालिक र नेता त

हेडफोन लाएर मस्त छन्,

यसैले सुन्लान् के त ?