पूजा उपाध्याय (असम)

ए रूख !

आज तेरो दिन

मोबाइल मोबाइलमा तँ

हात हातमा तँ

शब्दमा तँ

कवितामा तँ

प्रकृतिमा मात्रै नभएर

अहिले भर्चुअलमा पनि तँ

ए रूख ! आज साँच्चै तेरै दिन

तँबाट धेरै पायौँ हामीले

तेरो जीवनबाट धेरै खोस्यौँ हामीले

तर तँबाट कति के के सिक्यौँ होला हामीले ?

तँ जरासँगै अघि बढ्न जान्दछस्

तँ हाँगाभित्रै फैलिन जान्दछस्

हावा पानी र डढ्ने घाममा पनि

तँ स्थिर रहन जान्दछस्

तँ निःस्वार्थ गानको धुन गुनगुनाउँछस्

तर म !

म जति अघि बढ्छु

आफ्नो जरा उखेल्दै उड्छु

म जति फैलिन्छु

आफ्ना हाँगा भाँच्दै दौडिन्छु

सानो हावापानीमै म निथ्रुक्क भिज्छु

माया जति दिए पनि

स्वार्थमा फिर्ता माग्न सक्छु

तेरो सासले मेरो सास भर्न होइन

तँप्रति रहेको मेरो प्रेमको प्रमाण हाल्न

आज मलाई तेरो खाँचो छ

ए रूख !

आज साँच्चै तेरो दिन

एक छाती हरियो बोकेर

बढ्दै गएको तँलाई

झुटो आश्वासनमा हत्या गर्ने दिन ।