किशन प्रधान (दार्जीलिङ)

शताब्दी शताब्दीदेखि
हरियो चियाका मुनाहरूमा
पौँठेजोरी खेल्दै
बिहानीको चरासँगै
मनको वह गुनगुनाउँदै
आफ्नो दिनचर्या
ठीक त्यसरी
सुरु हुन्छ तिनीहरूको ।

घामको ताताले पिल्सिएर
आफ्नो अनुहार कुरूप
तर
सधैँ मुस्कुराइरहेका छन् तिनीहरू
हिउँदको धुलाले
फुङ्ग उडेको तिनीहरूको शरीर
तर पनि मुस्काइरहेका छन् ।

बर्खाको झरीले
चुट्नुसम्म चुटेका
हातका औँलाहरू तिनीहरूको
तर पनि मुस्काइरहेका छन् ।

रगर र पसिना बगेका छन्
चियाबारीका कान्ला कान्लामा
तर पनि मुस्काइरहेका छन् तिनीहरू ।

शताब्दी शताब्दीदेखि
भोगिरहेका छन् जिन्दगी त्यसरी
थाकेका छैनन् हात गोडाहरू
भएका छन् निराश कहिले
हिँडिरहेका छन् आजपर्यन्त तिनीहरू
उज्यालाको खोजीमा ।

फुलेका केश
सुकेका गाला
चाउरिएका / ओइलिएका अनुहार
सदियौँदेखि
अमला घारी र बाघखोर पखेरामा
हिँडिरहेका छन् तिनीहरू आज पनि
उज्यालाको खोजीमा ।