रामप्रसाद दाहाल (असम)

१.

खै कसको मनमा के चल्दै छ कसरी जान्नु

अँध्यारो भवनमा के चल्दै छ कसरी जान्नु ।।

 

जित्नेहरू खुसी छन् मैदानमा जितेपछि

हार्नेको धड्कनमा के चल्दै छ कसरी जान्नु ।।

 

धारिलो छुरा पनि देख्दा चिल्लो देखिन्छ

मीठो त्यो वचनमा के चल्दै छ कसरी जान्नु ।।

 

मेरो छोरालाई असल मान्छे बनाउने मन छ

उसको भाजनमा के चल्दै छ कसरी जान्नु ।।

 

आहा! मौसम कति खुला छ यो धर्तीको

नपुगिने गगनमा के चल्दै छ कसरी जान्नु ।।

 

मृत्यु मलाई अनि कसैलाई प्यारो लाग्दैन

समयको खटनमा के चल्दै छ कसरी जान्नु ।।

 

 

मन्दिरमा ईश्वर कराउँदा म हेरेको हेऱ्यै भएँ

आफ्नै मूर्तिदेखि डराउँदा म हेरेको हेऱ्यै भएँ ।।

 

रमिता हेर्नु रहेछ हामीले चलचित्र हेरेजस्तै

देवताले आँसु झराउँदा म हेरेको हेऱ्यै भएँ ।।

 

अंश लिए अनि पर तर्किए आफन्तहरू

शत्रुले वैतरणी तराउँदा म हेरेको हेऱ्यै भएँ ।।

 

मर्ने बेलामा जसले गर्छु भनी भरोसा दियो

उसले अर्कैलाई अराउँदा म हेरेको हेऱ्यै भएँ ।।

मुर्दाको मलामी जान्छन् मरेका मान्छेहरू

श्मशानमा मुर्दा हराउँदा म हेरेको हेऱ्यै भएँ ।।