पूजा आचार्य (असम)

शीत ऋतुको कुनै रिमरिमे बिहानी

मेरो घरको दैलो कसैले ढकढकाउँदा

शङ्का जाग्यो कुनै अघटनको

जुरुक्क उठेर दैलो खोल्दा

नजरमा परे

एक हल असहाय वृद्ध

 

“को हुनुभो ?”

नवागन्तुकसँग मेरो प्रश्नको उत्तर थिएन

जाडाले ठिँगुरिएका शरीर यन्त्रवत् उभिएको थियो

चार नयनले बोकेको थियो

एक आकाश कालो बादल

 

कुर्सीमा बसाई भित्र पसेँ

एकमुठी तातो पानी पिलाएँ,

ओठ लरबरिए दुवैका केही छिन

सुखको हाँसो हाँस्न बिर्सिएका निस्तेज ओठहरू

 

कुनै कुलङ्गार पुत्रको विवेकले रोजेको

मेरो घर आज

ईश्वरतुल्य वृद्ध बुवाआमाको

दुःख बिसाउने बिसाउनी बनेछ

जीवनको बाँकी कथा बुन्ने

भरोसाको आँगन

सायद एक निजी

वृद्धाश्रम

 

धेरै कुरा खेलाएँ मनमा

जब मूल्यबोध हराउँछ मान्यताबाट

पुत्र हुनुको अर्थ व्यर्थ बन्छ

बुवाआमाको मर्यादा पाउनु पनि व्यर्थै ठहरिन्छ

निष्ठुर भएर आउँछ भाग्य

माकुराले झैँ आफ्नै सन्तानले निलिदिन्छ

जननीका जीवनका रहल पाता

 

प्रत्येक रात छटपटाइरहन्छ

मेरो वृद्धाश्रम

भिजिरहन्छ वृद्धाका ओछ्यान

नाति नातिनाको झलझली यादले

मुटुको ढुकढुकी बढाउँछ

छोरा बुहारीका दुर्व्यवहारले

आँसुका धारा बगाउँछ

सधैँ रुवाउँछ

 

जति बेरै म

उनीहरूको साथ दिन्छु

शोक पीडा बुझ्ने गर्छु

छेउमा रही सान्त्वना दिन्छु

समाधानको बाटो खोजी हिँड्छु

वेदनाका बीच फेरि हर्षका आँसु बग्छन्

टुहुरो जीवनमा बुवाआमाको प्राप्तिले

गदगद हुन्छु

भाग्यशाली ठान्छु आफूलाई

भाग्यशाली ठान्छन् ती दम्पती

 

जन्म दिएको मात्र सन्तान हुँदैन

आश्रयदाता हो प्रकृत सन्तान

ईश्वरको वरदान

 

भोगको पोखरीमा पौडने रहरले

केवल श्रीमतीको बाहुपासमा बाँधिने चाहनाले

दायित्व र कर्तव्यको दायरा बिर्सने

अनि समाजमा ठालु गनिने

घमन्डको भारी मुटुभित्र  बोकेर

कलिको अवतारी छोरो

कति दिनको होला

उसको पनि लाडे छोरो छ

अझै आधुनिकता रिट्ठो नबिराई सिकाएको

भोलि उसका छोराको पालो

बाबुको रिन तिर्ने ।।