नैना अधिकारी (असम)

यो बाँझो धर्तीको छातीमा

तिमीहरूको स्मृति अझैसम्म जिउँदै छ

आफ्नो हरियालीको साथमा

 

तिम्रा पिठ्युँमा भएका

ती गहिरा नीलडामहरूले

तिमीहरूको साहस अनि धैर्य

भुल्न सकेका छैनन् अहिलेसम्म

 

तिम्रा ती सारा हातहरू

चिथोरिएर बगेका

रगतसँगैका घाउका दागहरू

अनि बाटाका ढुङ्गाहरूसँग हार नमान्ने

ती फुटेका पैतालाहरू

बिर्सिएको छैन यो माटाले

 

श्रीमतीसँग प्रेमको आलिङ्गनमा

हुनुपर्ने बेलामा

मध्यरात

गाउँबस्तीबाट लखेटिएर पनि

चुपचाप बस्यौ तिमी

आफ्ना सपनाहरूलाई बन्धक राखेर

खोज्दै हिँड्नुपर्ने भयो

पेटको आगो निभाउन एक मुट्ठी अन्न

 

विरासतले दिएर गएको छ मलाई

धेरै धेरै  यातना

जसलाई उमार्नु छ मैले यो धर्तीमा

हरियो, रातो, नीलो फूलको आकारमा

 

ए मेरा अज्ञात अनाम पुर्खा हो !

अझैसम्म जल्दै छन्

तिमीहरूका मूक शब्दहरू

झरिला कोइलासरि

अनि रोषले भरिएर

काम्दै छन् लगातार

तिमी इतिहास भयौ

तर तिम्रो इतिहास भएन

 

म भन्न चाहन्छु तिमीलाई

तिमीहरूको शरीरको पसिनाको गन्ध

तिमीहरूले उच्चारण गरेका शब्द

तिमीहरूले भोगेको भय

जुन युगौँयुगदेखि तमाम

हावाका बीचमा बलिरहेका छन् दियोसरि

 

अनि म सोध्न चाहन्छु

तिमी भन न

तिमीले धेरै गर्‍यौ मेरा लागि

तिमी थियौ र म छु आज

तर किन तिमी माटासँग मात्र लड्यौ

किन तिमी माटाका लागि लडेनौ

मेरो लागि किन एउटा घुम छोडेनौ ?