


मञ्जुला तामाङ सुब्बा (दार्जिलिङ)
कोविड
सङ्क्रमित संसार
कोरोनाको मुग्धमार
आतङ्कको दिन रात
मानवजगत् आहत
२१ औँ शताब्दीको आधुनिक तक्निकीले
सम्पन्न संसार ।
सफलताको शिखर चुम्दै हाँसेको संसार।
“लाखेस” गर्ने औँलीले
नचाएको संसार ।
अहंको रागले पोलेर
संसारै निल्न खोज्ने
सूक्ष्म भाइरसको आडमा
प्रलय मच्चिरहेछ ।
कसले कसका लागि खनेका
खाल्टामा पुरिँदैछन्
ईश्वरका समतुल्य ठान्ने उन्नतशील
मानव प्रजाति ।
हाहाकार छन्
खुल्ला आकाशबाहेक सबै
लकडाउन छ ।
विज्ञानका असीमित तक्निकीहरूमा
खोइ अर्को ग्रहमा संसारको
आविष्कार?
जहाँ सुरक्षित मानव जाति
बस्न सकोस् ।
आस्थामा उठेका हातहरू
आखाँ चिम्लेर नोभाज आर्कको बरदान माग्दो हो
त्रास्त यस संसारबाट
प्रभुप्रेमको भिख कति माग्दो हो ।
कहीँ छैन सुरक्षित ठाउँ
कोरोनादेखि भागेर कहाँ जाऊँ ?
चन्द्रमाको धरती कहिलेलाई ?
गुहार सुनी
तयार गर ती धरती अहिलेलाई ।
न अम्फानले पखाल्न सक्यो
भाइरसको विषालु जीवाणुहरूलाई ।
न चक्रपादको बेगले उडाउन सक्यो
कोरोनालाई कहरलाई ।
प्यान्डामिक घोषित भएपछि
आस्थाका ढोकाहरू बन्द भए ।
चमत्कारको अपेक्षामा आशाका किरणहरू देखा परे
तब
ईश्वर स्वयं धर्तीमा अवतरित भए ।
डाक्टर, नर्स, एम्बुलेन्स ड्राइभर,स्वास्थ्य कर्मीहरू
बनी अस्पतालमा प्रकट भए ।
त्यागका प्रतिमूर्ति अनौठो बस्त्र पिपिई किटमा
आफैँलाई गुम्साएर
जीवन रक्षक बने ।
घोर अन्धकार कोरोना विपत्तिमा
ईश्वरीय शक्तिहरू वरदान बनिआए ।
वरदानी अप्सरा परीहरू नर्स बनिआए।
आइसोलेसन सेन्टरमा,
अस्पतालमा कोरोना सङ्क्रमितहरूका सेवामा लागिपरे ।
सबै भाग्छन्,
दूरी बनाइराख्छन् परिवारसँग सुरक्षित
बस्छन् ।
तर
स्वास्थ्य कर्मीहरू दन्किरहेका
कोरोना आगासँग सङ्घर्षशील छन्।
आफूहरू होम्मिएर सङ्क्रमितहरूलाई
जीवन प्रदान गर्दै छन् ।
जटिल यस शापित समस्यामा
स्वयंलाई मृत्युको मुखमा
होमिदिने
अनमोल आफ्ना परिवारभन्दा
कर्तव्यलाई सेवा ठान्ने
ती साक्षात् देवदूतहरूप्रति
लाखौँ लाख नमन छ ।
मन्दिर मस्जिद चर्च गुरुद्वारा गुम्बा
बन्द भए पनि
सम्पूर्ण स्वास्थ्य कर्मीहरूले
मनको ढोका उघारिदिए ।
आफैँ पनी सङ्क्रमित बनी
मृत्युको सङ्घारबाट फर्किआए
आशीर्वादको कवचहरूले
फेरि
मुस्कान भर्दै सेवामा कोमल
हातहरू बढाइरहे।
कतिले जीवन हारे ।
सन्तानहरू अनाथ बने।
कर्तव्य पथमा अघि बढ्दै
मृत्युहरू अङ्गले ।
असन्तुष्टि, आरोप, अस्वस्थ शरीर,
अभावहरूका कठोर खुट्टीहरू पार गर्दै
आत्माबलहरू साँची राखे।
प्रार्थना गर्ने ओँठहरू भन्दा
सेवा गर्ने हातहरू माहान् हुन्
पुण्य हुन् ।



