दीपक गजुरेल (असम)

आक्षरिक उज्यालो फैलाउन

हरपल तयारी रहने

शब्दभित्र आफ्नै किसिमले सजिएर

एउटा नयाँ विश्वको

निर्माण गर्न खोज्ने

शब्द पारखीहरू पनि

थालेछन् अन्योलमा पर्न ।

 

आफूखुसी सिर्जित

यी नयाँ बुद्धहरूको

देखेर खोक्रोपन

आफ्नो अनुहारमाथि

कृत्रिमता पोतेर

 

बौद्धिकताको चपेटामा

नाङ्गिरहेका हुन्छन् पल प्रतिपल

दुबो जसरी मौलाएका

यी कृत्रिम बुद्धहरू

आफ्नो बौद्धिकताको उडानमा

बेला बखत मौसमसँगै

आफ्नो रङ्ग बदलेर ।

 

वर्तमानको खेतभरि

स्वार्थको फसल उब्जाउन

हुन्छन् जताततै पर्खिबसेका

आफू खुसी सिर्जित

आधुनिक बुद्धहरू ।