वन्दना गौतम (म्यान्मा)

जूनको आँसु भनिने शीत

रातभर झर्छ,

प्रत्येक बिहानी,

क्षणभर मुस्कान छरेर विलीन हुन्छ ।

एकक्षण ओइलाएर झर्ने फूल पनि

लाली यौवन भरेर

मुस्कान लुटाएर आखिर झर्छ ।

 

सुखैसुख पनि चाहन्नँ

फुलै फूल पनि भन्दिनँ

काँडामाझको तितो सत्य

दुःखको पनि अनुभव गर्छु

जिन्दगी भन्नु नै द्वन्द्व सिद्धान्त ।

 

रोदनसँग मुस्कानको सङ्घर्ष

अचेतनसँग चेतनको सङ्घर्ष

सङ्घर्ष नै जीवनको अमिट नियति

डाँडापाखामा स्वतन्त्र फुल्ने गुराँस

हिलो दलदलमा फुल्ने कमल

काँडाबीच फक्रिएको गुलाब

मस्कान र सुवास भर्छन्

आ–आफ्नै नियति लिएर

तर ! विपरीत स्थिति ।

 

नियतिको परीक्षामा

नमिठो अनुभूतिलिएर

चिथोरिन्छन्, निचोरिन्छन्

मौनता र स्तब्धतामा अल्झिएर

अरूकै आश्रयमा आश्रित भएर

फुल्न बाध्य छ सुनाखरी

आफ्नै सौन्दर्य छ.

आफ्नै इच्छा आकाङ्क्षा अनि

आफ्नै सपनाहरू

आफ्नै गरिमा, आफ्नै महत्ता छन् तापनि

मानवीय संवेदना

अपहेलना घृणाले ओतप्रोत भएर

हाँसोभित्रको आँसु

उज्यालोभित्रको अन्धकारसँग

संवेदनाविहीन व्यवहारको

नरमाइलो अनुभूति लिएर

सधैँ फुल्नु नै पर्ने

सुनाखरीझैँ

समयचक्रभित्र पिल्सिएर

बाँचेका आत्माहरूको

उन्मुक्तिएको आवाजहरूमा

पर्खालै पर्खाल उभिएका छन्

यी पर्खाल भत्काएर

बाँच्न पाइनेॽ या नपाइने ॽ 

 

प्रश्न छ आजका युगका मान्छेहरूलाई

शारीरिक विकारहरूमा

अपूर्णता देख्ने दुनियासँग

सम्पूर्णता खोज्नेहरूलाई

घृणा, अपमान, तिरस्कार जस्ता

अमानवीय व्यवहारबाट पर

सम्मान र प्रेमभित्र

चेतन बत्तीको उज्यालामा

संवेदनशील मानव समाजमा

एउटा शाश्वत सत्य !

पूर्णता केलाई भन्ने ॽ

पूर्णताको परिभाषामा के छ ॽ