सूर्य र पृथ्वीको बीचमा पनि

बुद्धि सुवेदी (असम)

युद्ध हुने गर्दछ कहिलेकाहीँ

पृथ्वीले नचाहेको

अनाकाङ्क्षित रहरहरू बोकेर

सूर्यले पृथ्वीको मुटुमा

जोत्ने गर्छ वर्षायामले।

 

पृथ्वीको धारणा

पृथ्वीमाथि सूर्य

अनधिकृत हक जमाउन

खोज्छ

तर त्यस्तो केही थिएन

सूर्य आफ्नो कर्तव्यपथमा

अडिक छ

युनिभर्सल अवधारणालाई

डोहोऱ्याउने क्रममा

उसले हाँस्न खोजेको मात्र

हो ।

 

सूर्यको उज्यालो मुहार

सहन सकेन पृथ्वीले

नसकेर कालो पोत्न ऊ ताम्सियो

रिसाएको छ

सूर्यदेखि भित्रभित्रै पृथ्वी क्षुब्ध छ

बाहिर मुस्कान मात्र

देखाएको त्यो मुस्कानमा साँचेको छ

गोप्य षडयन्त्रका चालहरू

सूर्यको ताप सहन नसकेर

पृथ्वी अविरल यात्रामा छ

हिमकल्पतिर

उसले अब मुटु जमाउनु छ

ढुङ्गाजसरी

उसले परास्त गर्नु छ सूर्यको तापलाई ।

 

सूर्यसित छ पृथ्वीको सम्बन्ध अटुट

स्वतः बलियो बन्छ त्यो सम्बन्ध

अनि गाँठो कस्सिन्छ ‌

फुकाल्न नसक्ने अवस्थाको गाँठो

यो सत्य कुराको मनन नगरेर

पृथ्वी बोलाएको छ

आफ्नै अस्मितामा डुबेको छ

तत्पर रहन खोज्दछ

एउटा सानो सानो युद्धै गर्न ताम्सिन्छ

पृथ्वीका विचारमा

त्यो महायुद्ध हुनुपर्छ

अनि

सूर्यलाई दाँतले हिँड्न विवश पार्छ ।

 

यस्तै भ्रममा बाँचेको पृथ्वी

बिहानको कुखुरासँगै डाक्न चाहन्छ

नीति बदलाएर

आफ्नो वर्चस्व राख्न चाहन्छ

काश ! पृथ्वीले देखेको भए

सूर्य नभए उसको परिभ्रमण

परिभ्रमण नभएर

बेट्री सकिएको घडी हुन्छ ।