सुशील सुब्बा ‘ सिटोङ्ग’

सान्त्वनाका मलहम दलेर

समयका पत्रे ब्यान्डेजले

बाँधिराखेको पुरानो मनको घाउ,

सम्झनाका लिखुरे हातहरूले

उप्काउँदै बल्झाई रहन्छ,

अलजेब्राका फार्मुलाहरू

यादै नहुने त्यो मगजका खियाहरू

कसरी पखालिए होलान् अहिले ?

पुरानो घाउका एक-एक पाप्राहरू

मुखस्थ भएर चहराइरहन्छ मन,

बासी समयका टाँनिक पिएका

छिप्पट मस्तिष्कका विषाक्त नङहरूले

यो मनको घाव कोट्याइरहन्छ,

अतिक्रमण यो मस्तिष्कको

मनको साम्राज्यमाथि,

कति सोच्छु-

मनको किल्लाको सुरक्षामा

ठडाइदिनु घेराबन्दी कठोरताको

तर पराजय बोकेर बाँचेको छ मन,

बेला बखत ठुट्टे पारिदिन्छु

ती काला/मैला जमेका विषाक्त नङहरू

कुनै दिन फुर्सदको घाम

आङमा ताप्दै हेर्छु

विषालु नङहरू पुनः पलाइरहन्छन्,

साह्रै तिखा यी सम्झनाका सुईहरू

घोचेर दुख्दो छ यो रुन्चे मन

छुलछुले मगजको बैसाखी नटेकी

हिँड्नै नसक्ने यो खँजा मन ।।