पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?
पुर्खाको आत्मालाई सम्झेर
श्रद्धाको फूल चढाउँदा चढाउँदै
पितृको पुण्य स्मृतिमा
आँसुको तर्पण दिँदा दिँदै
बिजुली चम्कियो आकाशमा !
बिजुली चम्कियो आकाशमा

विप्लव ढकाल
के भयो तिम्रो धरतीमा ?
के भयो मान्छेको बस्तीमा ?
सन्तानको मायाले पग्लेर
धमिलो आकाशलाई तरवारले चिर्दै
मरुभूमिको माटोलाई बन्चराले चिर्दै
उहिले उहिले सात पुस्ताअघिका
बाजे, बजै र बराजुहरू
फर्केर आए आँगनमा
र बास माग्न थाले !
हे छोराछोरीहरू !
प्यारा प्यारा सन्ततिहरू !
कुलका उज्याला दीपहरू !
तिमीहरूकै मायाले
श्रद्धा र प्रेमको छायाले
फर्केर आयौँ स्वर्गबाट !
फर्केर आयौँ नर्कबाट !
हामी फेरि बाँचेर आयौँ
मृत्युलाई पनि जितेर आयौँ !
समय पानीझैँ बगेर गयो
केही सम्झिए जस्तो लाग्छ
केही बिर्सिए जस्तो लाग्छ
के तिमीहरूले अझै
नयाँ घर बनाएका छैनौ ?
के तिमीहरूले अझै
नयाँ बाटो खनेका छैनौ ?
यो पुरानो घर
र पुरानो बाटो त
हामीले बनाएका थियौँ !
भन यो बाटो कसको हो ?
भन यो माटो कसको हो ?
हामी त आज
आफैले खनेको बाटोमा हिँड्दै
फर्केर आयौँ आफ्नै घरमा !
हामी आज
आफ्नै हतियार र औजार बोकी
बास खोज्दै खोज्दै आयौँ
आफैले बनाएको पुरानो गुँडमा !
(हे छोरानाति हो !
घरबेटी बाबु हो !
आँगनीमा देऊ न हामीलाई बास …)
आँगनको डिलमा उभिएर
जङ्गली चराझैँ गीत गाइरहेका
यी प्राचीन मान्छेहरू को हुन् ?
शिरमा घाँसको मुकुट लगाएका
कम्मरमा सिरुपाते खुकुरी भिरेका
पिठिउँमा नुनको ढाकर बोकेका
हातमा खुँडा र धनुकाण लिएका
खुट्टाभरि हिलैहिलो लागेका
काँधमा खर्पन, कोदालो र हलो बोकेका
पसिनाले भिजेको भोटो लगाएका
पितृहरूको लामो लस्कर देखेर
छोरा, नाति, पनाति
र तिनका प्रिय धर्मपत्नीहरू
सबै आतङ्कित बने
र घरको मूल ढोका थुनेर
भित्र पसे !
पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

