पोस्टरकवितामा कविता किन छापिएन ?
केही साताअघि साहित्यपोस्टमा एउटा निकै लामो लेख छापिएको थियो – साहित्यपोस्टमा हाम्रा लेख किन छापिँदैन?
साहित्यपोस्ट नामबाटै साहित्यिक पोर्टल पत्रिका भन्ने कुरा थाहा लागिहाल्छ र अब यसमा छापिने साहित्यिक सामग्री पाठकलाई आत्मसन्तुष्टि दिन र आफ्नो साहित्यिक धर्म पूरा गर्न साहित्यमा पर्ने हरविधामा आफ्नो सबल काम गर्दै आएको छ।
अब यसमा आफ्ना लेख छापिऊन् भन्ने चाहना सर्जकहरुमा त छँदैछ तर छापिने लायकको लेखहरु हुनुपर्यो।
पोस्टरकविता अभियानको आरम्भ पनि पोस्टरकविताको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने जमर्को हो, साथै यसमा छापिने कविताहरु पनि उत्कृष्ट र अब्बल नै होस् भन्ने ध्येय छ हाम्रो। साहित्यपोस्टको गरिमालाई थाहा गरेर काम गर्दैछौँ। विश्वभरि छरिएर बसेका नेपालीभाषीहरुबाट कविताहरु मेलमा आइराखेका छन्।
हामीले अग्रज र अहिलेका नयाँ कविहरुलाई सँगसँगै लिएर पोस्टरकविता गर्दैछौँ। लेखनमा विभेद गरेका छैनौँ।
कविहरुले कविता पठाउँछन् तर भाँति पुराउँदैनन्, जस्तै नेपालीमा आफ्नो पूरा नाउँ, ठेगानाहरु सही ढङ्गले प्रेषण गर्दैनन्। गाह्रो हुन्छ काम गर्न। अब जे लेखेर पठाउँदा कविता भइहाल्ने र छापिने सोच राख्नु कविताको गरिमालाई आँच पुर्याउनु हो, जो हामीले गरेका छैनौँ।
कसैको मन राखिदिनलाई साहित्यिक विधासित खेलवाड गर्नु अन्याय हुन्छ । साथै त्यस्ता पठाउनेहरु कवितामा बदनाम बन्छन्।
म कविता लेख्नेहरुलाई सोझै भन्दिन्छु, यो कविता भएन भनेर। केही दिनअघि एक कविलाई यसो भनेँ-
माफ गर्नुहोस् । कविताको शीर्षक अनि हरफ छुट्याएर पठाउनु पर्ने हुन्छ। कविता लेखनमा तपाईं काँचो हुनुहुन्छ। यद्यपि कोसिस गरिरहनुहोस्। यो कविता छाप्न असमर्थ छौँ।
पोस्टरकविताले कस्ता कविता छाप्दैछ त्यो हेर्नुहोस्, कविताहरु धेरै पढ्नुहोस्। अनि कविता लेखनतिर आउनुहोस्। निरुत्साहित नहुनुहोस्। तपाईंले जस्तै धेरै कविहरुले कविताहरु पठाए, जो रद्द भयो तर निकैपछि धेरै प्रयासपछि उनीहरुको कविताले पोस्टरमा ठाउँ पनि पायो।
मैले नघुमाई सोझै भनेँ, तपाईंले कवितामा अझ कोसिस गर्नुपर्छ।
यो भन्दा उनले म अझ कोसिस गर्छु भनिन्।
मेलमा आएका कविताहरु सरासर हेरेपछि सम्पादनमा लागिन्छ र छनोटको निम्ति साहित्यपोस्टका टिमसित भएर काम गरिन्छ अनि फाइनल भएपछि त्यसमा पोस्टर बनाउने काम अझ गाह्रो। यी सब प्रक्रियाबाट भएर आएपछि पोस्टरमा कविता आउँछ।
राम्रा कविताहरु ढिलो छिटो पोस्टरमा आउँछ। धेरै हतार लाएर छपाउन खोज्ने कविहरु पनि छन् र पालो-पालो कविता छापिने हो।
कविहरुले कविता फेसबुकमा प्रकाशित कविता नपठाउने आग्रह पनि गरेको छु। म्यासेन्जरमा पठाएका कतिपय कविता छुटेका छन् र मेलमा पठाएको कविता प्रकाशमा आउँछन् तर कस्तो कविता ?
छोटो छरितो पढ्दा चस्स छुने किसिमको कविता जो योग्य ठहरिन्छ त्यो छापिन्छ ।
४३ औँ शृङ्खलासम्म आइपुग्दा पोस्टरकविताको गरिमा बढेको छ। राम्रा कविता लेख्ने कविहरु र प्रयास गरेर राम्रा कविताको सृजनामा लाग्ने सर्जकलाई पोस्टरकविताले ठाउँ दिएको छ।
अब यति भनिसक्दा बुझ्नु भो होला, पोस्टरकवितामा कविता किन छापिएन… ?
सम्पादक
रवि रोदन
साहित्यपोस्ट पोस्टर कविता
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।