सम्पादकीय
कविता पारखीहरूका लागि हामीले एउटा फरक स्तम्भ प्रारम्भ गरेका छौं । हामीलाई विश्वास छ, यो स्तम्भले बिज्ञ पाठकहरूको मन-मस्तिष्कलाई पक्कै तान्ने छ ।
स्रष्टा त्यस्तो व्यक्ति हो – जोसंग आम मानिसभन्दा फरक गुण र क्षमता निहित हुन्छ । त्यही फरक गुण र क्षमताले नै उसले कालजयी सिर्जना गर्नसक्छ ।
लेखक स्वयंकाे  हस्ताक्षरमा कविता प्रेषित गर्दा पक्कै पनि साहित्य-पोष्टका लाखौं पाठकहरूले एउटा फरक स्वाद र आनन्द प्राप्त गर्नुहुने छ भन्ने हामीलाई दृढ़ विश्वास छ । कविको हस्ताक्षरमा आउने कवितामा कविको निजत्व मात्रै झल्किदैन । उसको सिर्जनात्मक ‘वास्ना’ समेत अनुभूति गर्न सकिन्छ । तसर्थ हामीले यो स्तम्भ मार्फत हाम्रा लाखौं पठाकहरूलाई कविको डायरीसम्म पुर्‍याउने धृष्टता गरेका छौं ।
हामीले यो स्तम्भ सुरु गर्नु पहिले स्रष्टाहरूसँग छलफल गर्‍यौं । हामीलाई अहिले पनि हाम्रा कालजयी सर्जकहरूको अक्षर कस्ता थिए भन्ने कुतूहल हुन्छ । उहाँहरूको हस्ताक्षर हामीले देख्न पाएनौं । यद्यपि हामी  त्यसको पनि यथासंभव खोजीमा अवस्य लाग्ने छौं । लेखकको हरेक कुरामा फरक सौन्दर्य र सुगन्ध हुन्छ भन्ने हाम्रो मान्यता छ । तसर्थ अहिलेलाई साहित्य-पाेष्टकाे यो स्तम्भमा साहित्यको प्रख्यात विधा कविताबाट ‘स्रष्टा-हस्ताक्षर’ स्तम्भ प्रारम्भ भएको भएको छ । यसले स्रष्टाकाे हस्ताक्षर अभिलेखिकरण मात्रै गर्दैन, समयको संवेद्यता र तिक्खर काव्यिक सौन्दर्य समेत जोगाउन मद्दत गर्छ ।
 यो स्तम्भ ‘स्तम्भ’ मात्रै नभएर एउटा शालीन आन्दोलन पनि हो । यसले कवि र कविताप्रेमी पाठकवीच लोकतान्त्रिक संवाद पनि गर्छ । हामीलाई आशा छ – कविहरूले हाम्रो यो अभियानमा पक्कै साथ सहयोग प्रदान गर्नुनै हुनेछ । हामीलाई आफ्नो र अग्रज स्रष्टाहरूको हस्ताक्षर संकलनमा सहयोग पुर्‍याएर हाम्रो अभियानलाई सार्थक बनाउनु हुनेनै छ ।