हिमाल उत्तरमा
बीचमा पहाड
तराई दक्षिणमा
पूर्व मेचीदेखि पश्चिम कालीसम्म
डाँडाकाँडा,पाखापखेरा,
नदी, तालतलैया,
हरिया वन,शीतल पवन
आहा! स्वर्गकाे टुक्रा मेरो देश
जन्म हुन्छ यमराजकाे नेपालकै काेखबाट
अनि भन्छ खाता पल्टाऊ चित्रगुप्त
काे हुन् यी अगाडि उभिएका ?
हुन्छ जवाफ चित्रगुप्तकाे
माया बिक, अगिरा पासी,मनवीरे सुनार,सङ्गीता परियार,सेते दमाई,शिवशङ्कर दास, अस्मिता सार्की,माया सार्की
हुन्छ जवाफ यमराजकाे
मान्छे भनेकाे त यिनीहरू पाे रहेछन्
त्यो दनदनी बलेको आगाेमा हाल्देऊ यिनीहरूलाई
जलाइन्छ आगाेमा जिउँदै
अर्को खाता पल्टाऊ चित्रगुप्त
काे हाे याे ?
जवाफ हुन्छ चित्रगुप्तकाे
नवराज बिक
हुन्छ जवाफ यमराजकाे
मान्छे भनेकाे त याे पाे रैछ
त्याे नदीमा फाल्देऊ यसलाई
फालिन्छ नदीमा जिउँदै
अर्को खाता पल्टाऊ चित्रगुप्त
काे हाे याे ?
हुन्छ जवाफ चित्रगुप्तकाे
रुपा सुनार
जवाफ हुन्छ यमराजकाे
मान्छे भनेकाे त याे पाे रैछे
त्यो उम्लिएकाे तेलमा हाल्देऊ यसलाई
हालिन्छ तातो तेलमा जिउँदै
स्वर्ग हुनुपर्छ मेरो देश
नर्क हुनुहुन्न मेरो देश
मृत्यु हुनुपर्छ यमराजकाे
पुन: जन्म हुनुहुन्न यमराजकाे
मेरो देश नेपालमा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला