
आर बी निश्चल
यो ब्रह्माण्ड एउटा अनन्त महल हो
जहाँ; अनन्त तारापुञ्जहरूमा नाचेका छन् अनन्त ताराहरू
गुरुत्वाकर्षणको अनन्त प्रेमले बाँचेका छन्
नाचेका छन् अनि चम्केका छन् ती आ आफ्नै दिव्य प्रकाशले
छैन विभेद त्यहाँ आकार प्रकार अनि तिनका प्रकाशको
बरु छ- अटल आधार प्रेम र विश्वासको !
यो पृथ्वीमा पनि
प्रकाश, पानी, हावा अनि माटोमा
छैन विभेद कहीँ- पशुपक्षी र वनस्पतिमा
फक्रेका छन् अनेक दर्शनपुष्प पनि यहाँ
म जन्मिएको दर्शनमा
मुख, बाहु, उरु र पाइतालाबाट जन्माइन्छन् मान्छेहरू
तर, मुखबाट जन्मेका मान्छे मात्रै
छन् यहाँ भान्सेहरू
देश पनि ससाना घर नै हुन्
जहाँ अनेक “कोठाहरूमा” बस्छन्
विविधता युक्त मान्छेहरू
तर, जब घरकै कोठाबाट जबरजस्ती निकालिन्छन् निश्चित "जातका " मान्छेहरू
तब, तिनको अस्तित्व जोगाउनकै निम्ति पनि
अनिवार्य बन्न जान्छन् कोटाहरू
जब देश- घरका कोठाहरूमा एउटै मात्र जातको रजाइँ चल्छ
तब अर्को जातको विद्रोह र क्रान्तिको आगो बल्छ कतै आगोले आफैलाई भस्म नपारोस् भनी राज्यले
“कोटा” पानी छम्किएर न्यायप्रेमी
जनताको आँखा छल्छ
एउटै जातको मात्रै मान्छे घर मालिक र भान्से पनि
आखिर कति दिन पो चल्छ?
वंशको शासन ढलेजस्तै एक दिन यो पनि अवश्य ढल्छ!
तब मात्रै फक्रनेछन् पैतालामुनिका फूलहरू
अनि मात्रै मानवताको सुगन्ध चल्छ!
प्रेम र विश्वासमा चल्छ्न यदि भने न्याय, समता र समानताका कोठाहरू
किन पो चाहिन्छ र ! जात र वर्ग विभाजनका यी कोटाहरू?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

