कवितात्मक दन्ते कथाहरुभित्र
“योजनाबध्द” उनिएका
संबेदनाहीन मिथकिय भष्मासुरहरु,
असमानताका अजङ्ग धाँजाहरु,
‘मनु’वाका अतिरञ्जित कलेवरहरुमा
कुँदिएका अनुशासनका निर्मम छडिहरु,
पटक पटक नयाँ लुगाहरुमा
पालुवा फेरिरहन्छन्,

हडप्पाको भग्नावशेषमाथि उभ्याइएको
द्विज दृष्टिय साँघुरो पर्खालभित्र
हरबखत जेलिएर खटिएका
‘शान्ति’ र “सहअस्तित्वका”का पहरेदारहरु,
मेरा गोडामुनिको माटो
खोस्रिरहन्छन् अनवरत,
मेरो मानो खोसिरहन्छन्,
मेरो छानो कोतरिरहन्छन्
अनि,
मेरो अहम् कुल्चेर
मेरो छातीमा तिनका तिखा नङ्ग्राहरु
धसारिरहन्छन्,

खेम गुरागाईं

विदीर्ण, अँध्यारा बन्द कोठरिहरुभित्र
जकडिएको आफ्नो महत्ताको राप सेक्तै,
आफ्नै पिसाबको पोखरीमा
गंगाजल छर्किएर
डुबुल्कि मारिरहन्छन्,
साँझबिहान,
चमकदार ताम्रपत्रहरुमा
आफ्नै रंगिन विरासतका
अस्लिल कथाहरु लेखिरहन्छन्,

मानवताको तराजुमा हरदिन हारेर,
असमानताको विद्रुप अनुहारमा
अल्झिएको
आफ्नो दिग्भ्रमित जीतको कथा
कोरिरहन्छन्, निर्लज्ज,

युगहरु घचेडेर ईतिहासका
एकांकी भासहरुमा,
मलाई जुगौं पुरानो
सपनाको कारखानाबाट
झिकेको फलामे हतियार धसेर
पछारिरहन्छन्,
अनगिन्ती कलुषित शब्दजालहरुमा,
“अलौकिक” ठेलीहरुमा गुजुल्टिएका
धुलाम्मे पन्नाहरुमा,

सहश्र चेतनाका मुलहरु काटेर,
निर्जिव शब्दहरुका
खियाभरित भुत्ते खुँडाहरुले
मलाई रेट्दा
भुईंमा छरिएका रगतका टाटाहरुमा
बिउँझिएका रक्तबीजहरु,
मेरो अनुहार हेरेर अचम्म मान्छन्,
केहि आशाका मलिन धर्साहरु निस्कन खोज्छन्
अनि फेरि बिलाउँछन्
त्यहि शास्त्रीय संकिर्णताका
गतिहिन गञ्जागोलहरुभित्र,

मेरा प्रश्नहरुदेखि तर्सिएर
मेरो मुखमा तातो फलाम कोच्नेहरुलाई,
मेरो हरेक जन्म
आफ्नो सर्बोच्चता जोगाउने
सुरक्षा कवच बनेर उदाउने गर्छ,

मेरो रगतपसिनाका कणकणहरुमाथि
ठडिएका भब्य महलहरुभित्र,
मेरा कालीगढी हातहरुको
अपमान पढाईन्छ,
तिनै पर्खालहरुभित्र,
मेरा जीन्दगीका अनमोल
विश्वासहरु डढाइन्छ,

अब मलाई तिम्रा सपनाका
दुर्गन्धित भारीहरु बोकेर
म भित्रै मारिएका मेरा सपनाहरुको
मलामी बन्नु छैन,

अब मलाई तिम्रो सपनाको कारखानामा
बनाएका भुत्ते औजारहरु चलाएर
मेरा सुन्दर झुपडिहरुमा
अझै जहर घोल्नु छैन,

अब मेरै कारखानामा
मेरो “बहिस्कार”को खिया डढाएर,
मेरो स्वाभिमानको धारमा पाइन चढाउन
हरबखत अल्झाउने तिम्रा हातहरुलाई
सलाम गर्नु छैन,

अब,
तिम्रा छद्म हतियारहरु बोकेर
मेरा संवेदनाहरुलाई
खण्डित गर्ने,
अनि,
मेरो अस्तित्वको अर्थहिनताका
अनेकन श्रृंखलाहरुमा
तिम्रा बकसपत्रहरुको ‘विभूत’ घसेर
"मोक्ष" प्राप्त गर्न धम्काउने
तिम्रा बहुलट्टि अवतारहरुको
बिषर्जन गर्दै,
मेरा कथाहरुमा
मेरै रगतपसिनाले सिंचित
अक्षरहरु कुँद्नु छ,
जस्मा मेरा, तिम्रा
र हामी सबैका
संगितका मधुर धुनहरु गुञ्जिउन्,
घृणा, अहंकार र असमानताका
सबै कथाहरु टुङ्गिउन् ।