
अविनाश भट्टराई
भेट्टायो आँखैमा बिलाउने तस्वीर उसले
हेर्यो नजिकबाट
जुम इन् गर्यो, अझ नजिकबाट हेर्यो
डुलायो आँखा तस्वीरका एकएक अङ्गहरुमा
आँखा हेर्यो
अनायासै उसलाई गाजल हुन मन लाग्यो
निधार हेर्यो
टीका बन्न मन लाग्यो
ओँठमा आँखा लगायो
लिपिस्टिक हुन मन लाग्यो
गलामा नजर अडियो
माला बन्न मन लाग्यो
हाततिर हेर्यो
बाला हुन मन लाग्यो
कम्मरमा दृष्टि पर्यो
ट्याटु भई बस्न मन लाग्यो
उसलाई लाग्यो पूरै तस्वीर छातीमा फ्रेम गरौँ
थाल्यो रङ्गीन सपनाहरु सजाउन
लाग्यो खोतल्न रङ्गीन तस्वीरको रङ्गीन रहस्य
उसले तस्वीरको वास्तविक नाम पत्ता लगायो
उसले उनको अन्तिम नाम थाहा पायो
त्यसपछि, तस्वीर ग्यालेरीबाट रिसाइकलबिनमा पठायो
अहिलेलाई यति मात्र भन्न मन पर्छ
ए भेदभावको कुरुप रङ्ग बोकेका मष्तिष्कहरु,
तपाईहरुलाई लालसलाम१



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
