बिद्या खड्का

हजुरआमाका कथाहरूमा
स्वर्ग र नर्कका बयान सुन्थें
त्यति समझ त थिएन
हरिया वन,
ढकमक्क फूलका बगैँचा,
कन्चन् खोला
प्रियजनको प्रेम र सद्भाव
स्वर्ग यहीँ छ त
प्रश्न गर्थें
स्वर्ग देख्न
मर्नु पर्छ र आमा ?
अचेल,
सुनसान छन् सडक वस्तिहरू
उजाड मरूभुमि जस्तै
जतिनै बेला, सुनिन्छ
चर्को एम्बुलेन्सको साईरन
कानमा झिर रोपे जस्तै
छट्पटाई रहेछन् मानवहरू
रोग भोक र शोकले
तातो तेलको कराहिमा छट्पटाए जस्तै
डुबिरहेछन् हत्या हिंसा र बलत्कार जस्ता
अपराधिक मानसिकतामा
निघृणी, निष्प्राण
ह्याल सिंगान र खकारका पोखरिमा डुबे जस्तै
हेरिरहेछु पत्रपत्रिका र फेसबुकका वालहरूमा
लुछाचुँडी, स्वार्थ र घृणाका मुहारहरू
मानविय संकटको यो घडीमा पनि
मानौं
ति••खा भालाहरू बनेर रोपिन तयार
जीवन चक्रको कुनै कालखण्डमा
सायद,
आफैंले गरेको पापको सजाय
भोगिँदैछन् आज
म लेखिरहेछु कथा
हो हजुरआमा,
यहीं रहेछ
जिउँदै देखिने नरक।

 

नागार्जुन ५ सितापाईला काठमाडौं