भानसिंह धामी

————————
आयो एक वुहानबाट  दुनियाँ, झस्केर भाग्यो घर
सारा जीवन हेर बेखबर छन्, चस्केर लाग्यो डर
को हो मालिक लौन भाइरसको, पर्दा उठायौ किन?
चस्मा छैन कि देखिदैन किन हो, आँखा फुटायौ किन?
                                ।१।
मान्दैनौं अपराध दोब्बर हुँदा, बेहाल भो सृष्टिको
आँखा सुन्दर यी तथापि अहिले, यो दोष हो दृष्टिको
नौलो आउँछ भेरियन्ट कसरी, आशा टुटायौ किन?
हाँसेको अब देखिदैन किन हो, आँखा फुटायौ किन?
                               ।२।
गर्छन् क्यै उपचार जो र जसले, को छन् यहाँ डाक्टर?
क्यै क्यै पाठ पढाउने नजिकमा, होला कि क्वै माष्टर?
ज्ञानी बन्न नचाहने तर सधैं, विद्या जुटायौ किन?
नाङ्गो छैन कि देखिदैन किन हो, आँखा फुटायौ किन?
                              ।३।
आयो दुश्मन यो सुटुक्क करमा, टाँसिन्छ छालासित
कुस्ती खेल्दछ जित्न खोज्छ यसले, वैराग्य चालासित
अज्ञानी अब हैन क्वै तर धुलो, टाढा उडायौ किन?
अप्ठेरो पथ त्यो भुलेछ बटुवा, आँखा फुटायौ किन?
                             ।४।
रोएरै न विनाश हुन्छ कहिले, यो लोकमा शोक छ
खाएरै न त पुर्ण हुन्छ जहिले, यो पेटमा भोक छ
धेरै दौलतले के गर्नु दुनियाँ, खोसेर खायौं किन?
आआफ्नो सपना सफा छ सबको, आँखा फुटायौ किन?
                            ।५।