तिमी राष्ट्रसेवक कसरी हुन सक्छौ र ?
राष्ट्रसेवक त निजामती पो हुन्छ,
तिम्रो मति छ र ?
राष्ट्रसेवक त कमिसनखोर पो हुन्छ,
तिमी कमिसन खान्छौ र ?
राष्ट्रसेवक त जनताचुसक पो हुन्छ,
तिमी जनता चुस्छौ र?
राष्ट्रसेवक त ठेकेदार पो हुन्छ,
तिमी ठेका लिन्छौ र ?
राष्ट्रसेवक त विवेकबन्धक पो हुन्छ,
तिमी विवेकबन्धक छौ र ?
राष्ट्रसेवक त झोले–नबोले पो हुन्छ,
तिमी झोले हौ र ?
राष्ट्रसेवक त भ्रष्टाचारी पो हुन्छ,
तिमी भ्रष्टाचार गर्छौ र ?
राष्ट्रसेवक त झूटको खेती गर्ने पो हुन्छ,
तिमी झूट बोल्छौ र ?
राष्ट्रसेवक त आश्वासन दिने पो हुन्छ,
तिमी आश्वासन दिन्छौ र ?
राष्ट्रसेवक त गरिबमारा पो हुन्छ,
तिमी गरिबमारा हौ र ?
राष्ट्रसेवक त शोषकसामन्त पो हुन्छ,
तिमी शोषकसामन्त हौ र ?
राष्ट्रसेवक त भ्रमको खेती गर्ने पो हुन्छ,
तिमी भ्रम छर्छौ र ?
राष्ट्रसेवक त नियमकानून मिच्ने पो हुन्छ,
तिमी नियमकानून मिच्छौ र ?
अनि यी एउटै गुण नहुने कसरी राष्ट्रसेवक हुन्छ र ?
अहँ तिमीलाई त राष्ट्रसेवक भन्नै मिल्दैन
किनकि तिमी त
बालबालिकाका मात्र सेवक हौ
गाउँबस्तीका मात्र सेवक हौ
पाखा पखेरुका मात्र सेवक हौ
घरपरिवारका मात्र सेवक हौ
आफ्नो स्कुलका मात्र सेवक हौ
समाजका मात्र सेवक हौ ।
अनि यति साँगुरो मान्छे
कसरी राष्ट्रसेवक हुन्छ र ?
सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।