मेरो घरले आफूलाई हेला गरेको कुनै दिन
जाँदा पहिले राखेका केही सरसामान ती लिन
देखेँ शालिग्रामजस्तो चिल्लो बाटुलो ढुङ्गो एक
बल्यो उजेली स्मृतिबत्ती मनमा मेरो किन किन ?
मडारिँदै तरङ्गहरु एक हुल विचारका आए
र दशकहरु पुरानो इतिहासको यात्रा गराए
जङ्गलका बिचोबिच बहेको कलकल नदीमा
सम्झनालाई समेटेर आफूलाई स्थिर गराए ।
किशोरावस्था र यौवनका ती थिए दिनहरु
लाग्थ्यो कि उम्रेका थिए आफैँमा प्वाँखहरु
सधैँ त्यो आव्हानको मात्र गरेर जङ्गलको
जान्थे तिनै घना जङ्गलमा मेरा पाइलाहरु ।
घना र कठिन जङ्गलको गहिरो छहारीमुनि
धेरै अग्ला झ्याम्म परेका ठुल्ठूला रुखमुनि
कन्दरा र भीर पाखाहरुमा मुग्ध डुल्ने गर्थेँ म
खेल्दै कसैका पाइला नपरेका कुमारी ओढारमुनि ।
कसैले नछोएका पानीका कलकल झरना ती
कञ्चन पानीका बुँद बोक्ने अनुपम प्रवाह ती
तिनसित खेल्नासाथ हुन्थ्यो ताजा हृदय मेरो
हे उपवन् तन मनका थकान हटाउने गर्थे ती ।
वर्षाका हिलेपानीमा कच्याककुचुक बग्ने पात
पानीका आफ्नै खेलमा थिए माछा अनिश्चित
लड्दै पड्दै हिँड्दा बालुवामा पुरिएर बस्ने
त्यही शालीग्राम थियो मैले राखेको जतनसाथ ।
“फेरि भेटौँला” भने पनि जङ्गलको त्यो नदीलाई
कहाँ पुगेँ, वर्षौँ बित्यो, रोक्ने कसले समयलाई ?
कैयौँ यस्तै ठाउँजस्तै एउटा क्रीडास्थल त्यो थियो
कहिल्यै फर्किन पाइनँ म झुक्याई आफ्नै बाचालाई ।
यो मुलायम ढुङ्गो गाला खेल्दै खोज्छ सम्झाउन
त्यो जङ्गल उपवनमा नै स्मृति खोज्छ फर्काउन
यात्रा लामो प्रियजनसित पार गरिसकेको छु
फर्किन कहाँ सक्छु र अहिले बाचा त्यो पुर्याउन ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।