कविता : जुनकिरीहरू

युवराज भण्डारी (क्यानडा)

अँध्यारो व्याप्त छ

निस्पट्ट छ

कतै आशाका किरणहरू

बादलमै हराइरहेका त हैनन् ?

कतै हामी

शताब्दीको ग्रहणमा त छैनौँ ?

 

स्वभावतः

अन्धकार प्रकाश

अनुपस्थित हुनुको परिणाम हो

उज्यालो अप्रकट भएको परिवेश हो

त्यसैले त

दिन ढल्दै जाँदा पछ्याउँदै सन्ध्या आउँछिन्

रात बित्दै गर्दा लाली छर्दै उषा आउँछिन्

प्रकृतिको नियम एवं रीतले चल्दै आएको हो

दुर्भाग्य ! वर्षदिनभन्दा धेरै भयो

हिजोआज अन्धकारको सङ्क्रमण बढेको छ

अदृश्य विषाणुको मृत्यु आतङ्क बढेको छ

 

तर

अमरअजर छैन कोही

स्थायी यहाँ छैन केही

सुख पनि आउँछ जान्छ

दुःख पनि आउँछ जान्छ

हरेक विपद् एकप्रकारको ग्रहण हो

केहीबेर रहन्छ

अनि सकिन्छ

 

यसरी

जगत् कहरमा डुबिरहँदा

दुनियाँ डरमा तर्सिरहँदा

उज्यालो बाँडिहिँड्ने देखिएन कोही

आशा जगाइदिने भेटिएन कोही

सिवाय जुनकिरीहरू

सिवाय ती किरणका रेखाहरू

ती अनमोल उत्सर्गहरू

आफ्नो प्राण हरपल बाजीमा राख्ने

ती सेवाका स्पर्शहरू

 

ती जुनकिरीहरू

अस्पतालहरूमा उड्दै छन्

अनि छन्

स्वास्थ्यचौकीहरूमा

गाउ, सहर अनि हरेक टोलमा

इमानदार सिपाही बनेर खटिरहेका

 

जीवन फिर्ता पाउनेका यी कल्पवृक्षहरू

यी फ्लोरेन्स नाइटिङ्गेलहरू

इतिहासको पानामा

हरेक समदृष्टिमा

हर जीवनका प्रेरणा हुन्

आहा !

कस्तो महान् सेवा

कस्तो मानव धर्म

नमन छ यी जुनकिरीहरूलाई

युगका नायक नायिकाहरूलाई