साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- तपाईँलाई कस्तो छ भगवान् ?

Chovar Blues Mobile Size

कविता- तपाईँलाई कस्तो छ भगवान् ?

विश्व वियाेगी (दार्जीलिड)

भगवान् त्यता

तपाईँलाई चाहिँ कस्तो छ?

 

मैले सधैँ

मानिआएको

सबैभन्दा शक्तिशाली ठानिआएको

प्रिय भगवान्‌

त्यता तपाईँलाई चाहिँ कस्तो छ?

 

यहाँ त हेर्नू न हामीलाई

भनूँ भने भनेको जस्तो

कस्तो गाह्रो छ।

 

सास बढेर

छटपटाइरहेकी मेरी आमालाई

कहाँ लैजाऊँ

यहाँ त अहिले

अस्पतालै बिमार छ।

 

भगवान्‌

यहाँ रोग लागेपछि

जताततै भोकैभोक छ

संसारभरिकै घर आँगनमा

शोकैशोक छ।

 

तपाईँ ठानेर मन्दिरमा

पूजा गर्ने ढुङ्गा पनि

एक्लै एक्लै छ

हामी पनि

घरभित्र

परिवारभित्र

एक्लाएक्लै छौँ ।

 

यहाँ त कस्तो अचम्म छ

सारा संसारै यतिबेला

एक्लै एक्लै छ ।

 

प्रिय भगवान्‌ !

त्यता तपाईँलाई चाहिँ कस्तो छ?

 

पहिले मैले त

नसुनेको, नजानेको

अहिले लकडाउन छ

सडकमा गुडेका छैनन् गाडी

आकाशमा उडेका छैनन् हवाइजहाज ।

 

केटाकेटीहरू पनि गएका छैनन्

घरदेखि स्कुलतिर

सबै सबै बन्द छ

फेसबुक‌, टिभी च्यानलतिर

जीवन बचाउन अक्सिजन

सिलिन्डर खोजिहिँडेको

मान्छे देख्छु

यस्तो लाग्छ

प्रकृतिबाट सित्तैमा पाउने

हावा पनि मन्द मन्द छ।

 

आदरणीय भगवान्‌!

यो हामीलाई

कस्तो परिबन्ध छ।

 

मर्न लागेको बाउलाई

आफ्नै छोरीले

छेउमा गएर दबाई होइन

पानीसम्म पिलाउन पाएकी छैन ।

 

मान्छे मरिरहेका छन्

छुन डराएर

परपर पारिएर

भुईँमा लडिरहेका छन्

भगवान्‌

यतिखेर घरको सट्टा

घाट थपिएको थपिएकै छ।

 

भगवान्‌

तपाईँले त माथिबाटै

सबै देख्नुहुन्छ भन्थे

धर्तीका भगवान्‌ मानिने

डाक्टरहरू डराइरहेको

डरले अस्पतालबाटै

रोगी बिमारदेखि डराएर हराइरहेको

फुटपातमा भोका मानिसहरू कराइरहेको

देख्नु भा’को छ छैन भगवान्‌?

 

कि देखेर पनि

नदेखेझैँ, थाहा नभएझैँ गरिरहनुभएको छ?

 

हामी मान्छेलाई

दुःखकै बेला सम्झिने

बानी परेछ भगवान्‌

बिन्ती छ

प्रिय भगवान्‌

दु:ख परेरै मात्र सम्झियो नभन्नुहोला

यहाँ हामीलाई यस्तै छ

त्यहाँ तपाईँलाई चाहिँ कस्तो छ भगवान्‌ ?

 

प्रतिक्रिया
Loading...