कविता- समयको बारुद

कविता शर्मा (असम)

समयसँग जोगाएका पल

भावनामा बगेर शब्द बन्न नसकेका मन

नियाल्दै छ

आफ्नै हातमा कस्सिएको कालचक्र

घरिघरि खुट्टामा फलामका पाङ्ग्रा

पिठ्युँभरि तातो घामको बिटो

आखा रित्याउँदै बुनेको सपना

अनि

एकमुठी आत्मविश्वासका जडीबुटीले नै

सक्षम हुन्छ

ओढाउन सफलताको पछ्यौरी

हिमाल नाघ्ने

तब त

भावनामा पिल्सिँदै मसी खोज्न छोड्यो मनले

बारुदसँग माया साटेको छ अचेल

बारुद बोल्छ

ठोक्नु छ मादल कुम्भकर्णको कानमा

छर्नु छ सञ्जीवनीको बिरुवा

दिवाङ्गत मनहरूमा

जाग्राम ती धमिला आँखाले रचेको इतिहास

भत्काउन

बाल्नैपर्छ आगो बारुदको

निःशब्द त्यो भावनाको गाँठ फुकाउन

एउटा कलिलो मनलाई

बारुदकै मसीमा चुर्लुप्प डुबाउँदै

असङ्ख्य झिल्का उडाउनु छ

तब त भरिन्छन् इतिहासका पछिल्ला पानाहरू

थपिन्छ अर्को एउटा युगको आत्मकथा

समयको रङ्गीन बुटाहरूमा

भोकुन्डो फुट्दैमा वायु सकिन्न रे

भन्दै छ बारुद मन

आकाशमा फलाउनु छ मकै उसलाई

रोपेर चमत्कारका बिरुवा  ।